
मोरङ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मोरङको बुढीगंगा गाउँपालिकामा ज्येष्ठ नागरिकसहित गरिब, विपन्न तथा असहाय नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ।

शीतलहरको बढ्दो प्रभावका कारण दैनिक जीवन कष्टकर बन्दै गएको अवस्थामा नागरिकलाई राहत पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा आईजीपी कार्कीले विभिन्न वडाका ज्येष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूलाई न्यानो कपडा प्रदान गर्नुभएको हो।

कार्यक्रमका क्रममा आईजीपी कार्कीले जनतासँग साक्षात्कार गर्दै नेपाल प्रहरी केवल सुरक्षा निकाय मात्र नभई सामाजिक उत्तरदायित्व बोकेको संस्था भएको उल्लेख गर्नुभयो। उहाँले कठिन अवस्थामा रहेका नागरिकको साथमा उभिनु प्रहरीको कर्तव्य भएको बताउँदै यस्ता मानवीय कार्यले प्रहरी र जनताबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।


स्थानीय जनप्रतिनिधि तथा नागरिकहरूले चिसो मौसममा न्यानो कपडा वितरण गरिएकोप्रति धन्यवाद व्यक्त गर्दै यसले शीतलहरबाट जोगिन ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।
नेपाल प्रहरीले आगामी दिनहरूमा पनि सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


