मानवअधिकारको अवस्था विग्रदो

 

काभ्रेपलाञ्चोक – अनौंपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेपलाञ्चोकको आयोजनामा २०८२ पुस १६ गते बनेपामा मानवअधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रम भएको छ ।

बिज्ञापन

समिक्षा कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले वर्ष पुस्तकले मानवअधिकार सचेतनाका क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले हिंसाका रुप र स्वरुप बदलिएको अवस्थामा सचेतनाका कामका तौरतरिका बदल्न आग्रह गर्दै अहिलेको अवस्था कोही कसैलाई नटेर्ने भएको हुँदा सबैमा उत्साह, हौसलाका साथै मनोबल बढाउन आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले मानिसहरूलाई सामाजिक सञ्जालबाट प्रताडित बनाउने र यस्तो अवस्थामा बोल्न पनि नसकिने कुरा मानवअधिकारका विषयबस्तुमा पर्ने कि नपर्ने भनेर प्रश्न राख्नुभयो ?
जिल्ला प्रहरी कार्यालय महिला तथा बालवालिका शाखाका पुरुषोत्तम अवस्थीले हिंसाका घटनामा कमी देखिएपनि बलात्कार, बहुविवाह, बाल यौन दुव्र्यवहार र आत्महत्याका घटनामा कमी नआएको उल्लेख गर्नुभयो ।

मानवअधिकार सञ्जालका संयोजक भोजराज तिमल्सिनाले मानव अधिकारको अवस्था विग्रदो रहेको बताउँदै जिल्लामा व्यक्तिगत हत्या, बलात्कार लगायतका यौनजन्य हिंसा र सम्वन्ध विच्छेदका घटनामा बढोत्तरी भएको बताउनुभयो । इन्सेक प्रतिनिधि सुमित्रा आचार्यले स्वागत गरेको कार्यक्रममा आर्दश विद्या मन्दिरका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, अग्रज पत्रकार प्रल्हाद शर्मा हुमागाई, महिला अधिकारकर्मी निर्मला काफ्ले र कल्पना विश्वकर्मा, नेपाल मानवअधिकार संगठनका राजु सिग्देल, रेडक्रसका गोकुल बानियाँ, सामाजिक कार्यकर्ता कमल बन्जारा र रामकृष्ण आचार्य, माइती नेपालकी गायत्री गौतम लगायतले मानवअधिकारको अवस्थाका विषयमा आ–आफ्नो भनाई राखेका थिए ।