तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको छ : प्रधानमन्त्री कार्की

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा मुलुक अघि बढेको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रधानमन्त्री कार्कीले सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी वर्तमान सरकार गठन भएको भन्दै सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा पुगेको बताएकी हुन् ।

बिज्ञापन

उनले राजनीतिक परिवर्तनले समयानुकूल आम नागरिकको जीविकामा सुधार नसकेको, पेसा, व्यवसाय र रोजगारीका अवसर नभएको र आचरण र व्यवहार पनि न्यायपूर्ण हुन नसकेका कारण जेनजी आन्दोलन हुन पुगेको उल्लेख गरिन् । जेनजी आन्दोलनपछिको असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको उनले बताइन् ।

प्रधानमन्त्री कार्कीले मुलुकलाई विधिको शासनमा हिँडाउने, लोकतान्त्रिक उपलब्धि जोगाउने र दिगो स्थिरता कायम राख्ने तथा व्यावसायिक वातावरण बनाउनका निम्ति समेत अचुक माध्यम निर्वाचन नै भएको स्पष्ट पारिन् ।

उनले जेनजी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्त तथा विकास योजनामार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चततासहित बन्द, हडताल, तोडफोड, आगजनी लगायतका आक्रमण निषेधित क्षेत्रका रुपमा संरक्षण प्रदान गर्न साझा प्रतिवद्धताको खाँचो रहेको बताइन् ।

उनले जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय क्रियाशील रहेको उल्लेख गरिन् ।