
बनेपा । ५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बनेपा नगरपालिकाले नगरभित्रका १४ वटै वडाका ८० तथा ८१ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा प्रदान गर्दै सम्मान गरेको छ।

ज्येष्ठ नागरिकप्रति सम्मान, संरक्षण र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा जाडो मौसमलाई मध्यनजर गरी न्यानो कपडा वितरण गरिएको हो।

कार्यक्रममा बोल्दै बनेपा नगरपालिकाका नगर प्रमुख शान्ती रत्न शाक्यले समाज र राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको योगदान अतुलनीय रहेको उल्लेख गर्दै भन्नुभयो, “आज हामीले भोगिरहेको विकास, संस्कार र मूल्य–मान्यता ज्येष्ठ नागरिकहरूको जीवन अनुभव र योगदानकै परिणाम हो। उहाँहरूको सम्मान गर्नु हाम्रो कर्तव्य मात्र नभई दायित्व पनि हो।”


त्यस्तै, उप–प्रमुख बिमला सापकोटा दाहालले ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षाको अनुभूति गराउने कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो। उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकहरू हाम्रो समाजका अभिभावक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य, सम्मान र सामाजिक सुरक्षामा नगरपालिकाले विशेष ध्यान दिँदै आएको छ र आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिनेछ।”
नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरू तथा जनप्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूले नगरपालिकाबाट प्राप्त सम्मानले आत्मसम्मान बढेको प्रतिक्रिया व्यक्त गरेका थिए।
बनेपा नगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै भविष्यमा पनि यस्ता सम्मान तथा सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।


