निर्धक्क भएर निर्वाचनमा सहभागी हुन राजनीतिक दललाई सरकारको आग्रह
messenger sharing button
whatsapp sharing button

काठमाडौं । सरकारले चूनावको वातावरण बनाउन गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन राजनीतिक दललाई आग्रह गरेको छ ।

सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले बुधबार जनमत पार्टीसँग छलफल गर्दै तोकिएको समयमा नै निर्वाचन सम्पन्न गर्नेगरि वातावरण बनाउन सरकार गम्भीर भएकाले निर्धक्क भएर सहभागी हुन आग्रह गरेको हो ।

बिज्ञापन

छलफलका क्रममा जनमतका नेताहरुले आफुहरु निर्वाचनमा जान तयार भएको र सुरक्षा लगाएतका तयारी प्रभावकारी ढंगले गर्न सुझाव दिएका थिए ।

छलफलपछि उच्चस्तरीय राजनीतिक संवाद समितिका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चूनावको वातावरण बनाउन राजनीतिक दलका कार्यलय पुगेर छलफल गरेको बताए । उनले सरकारको तर्फबाट चूनावको तयारी अगाडी बढाउन जनमतका नेताहरुले सुझाव दिएको उल्लेख गरे ।

त्यस्तै जनमत पार्टीका अध्यक्ष सीके राउतले चूनावी वातावरण बनाउन राजनीतिक दलका कार्यालयमा आएर छलफल हुन सकारात्मक बिषय भएको बताए ।

आफुहरु चूनावमा जान तयार रहेको र सुरक्षा लगाएतका सवै तयारीमा गम्भीर भएर लाग्न आफुले सरकारलाई सुझाव दिएको उनले जानकारी दिए ।

अध्यक्ष राउतले तोकिएको समयमा नै निर्वाचन हुनेमा कुनै आशंका गर्नुपर्ने ठाँउ नदेखिएको जिकिर गरे । उच्चस्तरीय राजनीतिक सम्वाद समितिले मंगलबार कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टी कार्यालय पुगेर छलफल गरेको थियो ।

दलहरु र सरोकारसँग छलफल गर्न मन्त्रिपरिषद् बैठकले केहिदिन अघि तीन सदस्य उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरेको थियो । समितिमा सञ्चारमन्त्री खरेल, कानून मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।