अण्डाको मूल्य हालसम्मकै उच्च

# अण्डाको मूल्य हालसम्मकै उच्च
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर २२, २०८२
अण्डाको मूल्य हालसम्मकै उच्च

नेपाल लेयर्स कुखुरा पालक सङ्घले मङ्गलबारदेखि लागू हुने गरी नयाँ अण्डा मूल्य निर्धारण गरेको छ। नयाँ मूल्य अनुसार, ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० को) रु ५८०, ठूलो अण्डा रु ५६५ र मिडियम अण्डा रु ५५० तोकिएको छ। यस अघि साउन महिनामा ठूलो अण्डाको मूल्य रु ५६० पुगेको थियो, जुन पछि घटेर रु ४०० मा झरेको थियो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार, भारतीय अण्डा नेपालमा अवैध रूपमा आउने समस्या रोकिएपछि नेपाली अण्डाले लागत मूल्य पाउन थालेका छन्। भारतीय सीमा नाका कडाइ गरेपछि र भारतमा अण्डाको मूल्य बढेपछि नेपालमा अण्डाको मूल्य बढ्न थालेको हो।

बिज्ञापन

पोखरेलका अनुसार, भारतीय अण्डा नेपालमा नपाउँदा नेपाली कृषकलाई उचित मूल्य पाउने अवसर मिलेको छ। सरकारले सीमा क्षेत्रमा कडाइ गर्दा नेपाली किसानलाई बचाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

सङ्घका सल्लाहकार त्रिलोचन कँडेलले पनि भारतमा अण्डाको मूल्य बढेको बताए। उनले भने, “भारतमा राम्रो मूल्य पाएका कारण अब नेपालमा अवैध रूपमा अण्डा भित्र्याउने प्रयास कम भएको छ।”

नेपालमा अण्डाको लागत मूल्य प्रति गोटा रु १६.५७ पर्न आउँछ, र अहिलेको मूल्यमा किसानले नाफा कमाउन सक्छन्। पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेका अनुसार, जाडो महिनामा अण्डाको खपत बढ्ने अपेक्षा छ, जसले मागलाई थप बढाउने छ।

हाल नेपालमा दैनिक ४० लाख गोटा अण्डा उत्पादन हुने अनुमान छ। अण्डाको मूल्य नपाएपछि साना किसान विस्थापित भएका थिए, भने बैङ्किङ ऋण लिएर कुखुरा पालन गर्ने किसानले माग धान्न सकेका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up