जाग्रेबमा हजारौँ दर्शकको माँझमा गुन्जिए गायक विश्व दोङ
Singer Bishwo Dong performing in Croatia

जाग्रेब – नेपाली लोक तथा आधुनिक संगीतका चर्चित गायक तथा संगीतकार विश्व दोङको युरोप सांगीतिक यात्राअन्तर्गत क्रोएसियाको राजधानी जाग्रेबमा आयोजित भव्य लाइभ कन्सर्टमा हजारौँ दर्शक झुमेका छन्। नेपाली गीत–संगीत, भाषा, कला र संस्कृतिको आत्मीयता बोकेको उक्त कार्यक्रममा क्रोएसियामा बसोबास गर्ने नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कोशेली प्रोडक्सनको आयोजनामा जाग्रेबस्थित बोगालो क्लबमा सम्पन्न ‘विश्व दोङ लाइभ कन्सर्ट इन क्रोएसिया’ साँझ ५ बजेदेखि सुरु भएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा गायक विश्व दोङको लाइभ प्रस्तुति राति ९ बजेदेखि सुरु भएको थियो। लामो समयदेखि विदेशमा रहेका नेपालीहरूलाई नेपाली संगीतसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा दर्शकको उत्साह र सहभागिता उल्लेखनीय देखिएको थियो।

बिज्ञापन

कार्यक्रमको सुरुआत विभिन्न कलाकारका नृत्य तथा सांगीतिक प्रस्तुतिबाट गरिएको थियो। सुजिता तामाङको नृत्यबाट सुरु भएको कार्यक्रममा गायिका शर्मिला घले गुरुङले ‘चौबन्दीमा पटुकी’ र ‘चिया बारीमा’ लगायतका गीत प्रस्तुत गरिन्। कौशिला राई, अमृत तामाङ, सुजु घले, अशोक राई, अमृत तामाङ, दीपक तामाङ लगायत कलाकारले आ–आफ्ना सांगीतिक तथा नृत्य प्रस्तुति दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। सलोमी तामाङ, शिरिसा तामाङ र सुजिता तामाङको समूहगत नृत्यले पनि दर्शकको ध्यान खिचेको थियो।

नेपाली मौलिक नृत्य, र्‍याप संगीत तथा लोक र आधुनिक गीतहरूको संयोजनले कार्यक्रमलाई सुरुदेखि अन्त्यसम्म जीवन्त बनाएको थियो।

गायक दीपक तामाङले ‘रुकुम मैकोट’ र ‘सम्झना बिर्सना सललल’ जस्ता गीत प्रस्तुत गर्दा दर्शकले ताली र हुटिङसहित उत्साहपूर्वक साथ दिएका थिए। कलाकारका प्रस्तुतिसँगै दर्शकहरू पनि नाच्दै, गाउँदै र नेपाली संगीतको लयमा रमाउँदै कार्यक्रमको हिस्सा बनेका थिए।

कार्यक्रमको मुख्य क्षण भने गायक विश्व दोङको लाइभ प्रस्तुति थियो। मञ्चमा उत्रिएका दोङले ‘साइलो म चारघरे’, ‘कहाँ पर्यो घर’, ‘मुस्ताङ्गे नानी’ लगायत दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गरे। उनका चर्चित गीतको धुन बज्न थालेसँगै दर्शकहरू उत्साहका साथ नाच्न र गाउन झुम्न थालेका थिए। कतिपय दर्शकले आफ्ना मनपर्ने गीतमा मोबाइलको क्यामेरा तेर्स्याउँदै क्षणहरू कैद गरेका थिए भने कतिपय प्रत्यक्ष रूपमा गीतको लयमा झुमिरहेका थिए।

लोक स्वाद, मौलिक नेपालीपन र आधुनिक संगीतको संयोजनमा तयार भएका दोङका गीतले विदेशमा रहेका नेपालीको मनलाई आफ्नै गाउँघर, भाषा र सम्झनासँग जोडेको अनुभूति गराएको थियो। परदेशको व्यस्त जीवनबीच नेपाली गीतको धुनले जाग्रेबमा केही समयका लागि नेपालकै वातावरण सिर्जना गरेको सहभागी दर्शकहरूको भनाइ थियो।

कार्यक्रमका क्रममा सहयोगी तथा प्रायोजकहरूलाई सम्मानसमेत गरिएको थियो। एभरेष्ट फास्टफुड एण्ड एसियन फ्युजन, थोमस बार एण्ड क्याफे तथा नेपाली हेयर सैलुन मुख्य प्रायोजकका रूपमा रहेका थिए भने लामा डिजिटल र ट्राभल तथा बुद्ध मार्ट सह-प्रायोजकका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सहयोग पुर्‍याउने सोमा राई, बालकृष्ण रानाभाट, राज लामा, भोजराज जमरकट्टेल, सासा होस्को लगायत सहयोगीहरूलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको सञ्चालन गायिका शर्मिला अर्यालले गरेकी थिइन्। उनको सहज र प्रभावकारी सञ्चालनले विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिलाई जोड्दै कार्यक्रमलाई निरन्तर गतिशील बनाएको थियो।

क्रोएसियाको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि गायक विश्व दोङले आफ्नो युरोप सांगीतिक यात्रालाई रोमानियामा समेत प्रस्तुत गरिसकेका छन् ।

हजारभन्दा बढी दर्शकको उपस्थितिमा सम्पन्न जाग्रेबको कार्यक्रमले नेपाली कला, भाषा, संस्कृति र मौलिकतालाई विदेशको भूमिमा समेत जीवन्त रूपमा प्रस्तुत गरेको अनुभव भएको सहभागी दर्शकहरूले जनाएका छन्। उनीहरूका अनुसार यस्तो कार्यक्रम मनोरञ्जनको माध्यम मात्र नभई परदेशमा रहेका नेपालीलाई आफ्नो पहिचान, भाषा र सांस्कृतिक जरा सम्झाउने अवसर पनि बनेको छ।

कार्यक्रमको अन्त्यमा गायक दोङलाई मायाको चिनोसहित आत्मीय रूपमा बिदाइ गरिएको थियो। कार्यक्रमको समापन पश्चात तामाङ समाज क्रोएसियाले आफ्ना सदस्यहरूसँग भेटघाट कार्यक्रम आयोजना गरि  मायाको चिनो समेत प्रदान गरेको थियो ।

विश्व दोङको युरोप सांगीतिक यात्रा केवल कन्सर्टहरूको शृङ्खला मात्र नभई विदेशमा रहेका नेपाली समुदायलाई नेपाली गीत–संगीत, भाषा, कला र संस्कृतिको एउटै सांगीतिक छातामुनि जोड्ने सांस्कृतिक अभियानका रूपमा अघि बढिरहेको देखिन्छ। परदेशको भूमिमा नेपाली गीत गुन्जिँदा दर्शकका आँखामा देखिएको उत्साह र अनुहारमा देखिएको मुस्कानले नेपाली संगीतले भौगोलिक दूरी पार गरेर पनि नेपाली मनलाई जोडिरहने शक्ति बोकेको अनुभूति गराएको छ।

बेलायतदेखि पोर्चुगल, क्रोएसियादेखि रोमानियासम्म फैलिएको दोङको सांगीतिक यात्राले नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउने प्रयासलाई थप बल दिएको छ। नेपाली संगीतको यही यात्रा आगामी दिनमा अझ फराकिलो बन्दै जाँदा विदेशमा रहेका नेपाली पुस्तालाई आफ्नो भाषा, संस्कृति र मौलिक पहिचानसँग जोड्ने एउटा सुन्दर सेतु बन्ने अपेक्षा गरिएको छ।