
सन्तोष प्रसाद तिवारी

नेपालको राजनीति-पुस्तौँदेखि विभिन्न शासन रूप, क्रान्ति र आन्दोलन पार गरेको यस्तै प्रणाली-आज पनि जनताको वास्तविक आवश्यकता पूरा गर्न नसकेको स्पष्ट छ। शासन बदलिँदै गयो, तर शासन चलाउने सोच, स्वभाव र चरित्र बदलिन सकेन। यही मूल बिन्दुले आज उठेको आक्रोश र आशयलाई प्रस्ट पार्छ।
नेतृत्वको चरित्र नबदलिएपछि प्रणाली बदलिँदा केही सार्थक हुँदैन
राणा शासन, राजतन्त्रदेखि गणतन्त्रसम्म—हामीले ‘रूप’ धेरै फेर्यौँ तर ‘प्रवृत्ति’ जस्ताको तस्तै रह्यो। लाभ–लोलुपता, पद–लोभ, झूट र छल,अपराधी मानसिकता, यी सबै संस्कृति राजनीतिक शक्तिका केन्द्रहरूमा किन स्थायी रूपमा अझै पनि बसिरहेका छन्? उत्तर सरल छ—प्रणालीभन्दा ठूलो समस्या नेतृत्वको चरित्र हो। सत्ताको मूल स्वरूप बदलियो, तर सत्ताको भित्र बसेका सोच–व्यवहार बदलिन पाएनन्। परिणाम—त्यो दुई–चार जनाकै निजी सम्पत्ति जस्तै राज्यसञ्चालन, र जनताका सपना भने सदैव बन्दी।
जनमुखी विकासका नाममा पार्टी–मुखी देश
विकास योजनाहरू जनताका आवश्यकता पूरा गर्न होइन, दलबलका कार्यकर्ता र सत्ता–सञ्जालहरूलाई पोस्ने साधन बन्न पुगे।
महँगी, भ्रष्टाचार,अनावश्यक विभाग र ठेक्कापट्टा–तथाकथित ‘राजनीतिक भर्ति’ यी सबैले नागरिक जीवनलाई बोझिलो बनाएको अनुभूति व्यापक छ। ‘सजिलो प्रशासन’ भनिँदै थोपारिएको प्रविधिको खर्च पनि अन्ततः जनता नै थेग्नु पर्ने बाध्यता बन्यो।
रोजगारीको अभाव र वैदेशिक दासत्व
विदेशिन बाध्य युवाहरू—जसले देशको श्रम शक्ति भन्दा बाहिरिभएर विदेशी भूमिमा परनिर्भरता बढायो। सरकारहरूले ‘लाइसेन्स’ दिए, मध्यस्तकर्ताले ‘व्यापार’ बनाए, र युवाहरू आफ्नै देशमा काम गर्ने अवसर नपाएर परदेशी श्रम बजारमा बेचिन बाध्य भए। देशभित्र रोजगारी नदिइकन सडक आन्दोलनमा युवालाई धकेल्ने अभ्यास—यही हो शासनको विडम्बना।
अपराधीकृत राजनीति : नेतृत्व चयनको गम्भीर दोष
अभियोगित, ठग, दलाल, मानव तस्कर, भ्रष्ट—यिनै पात्रहरू फेरि–फेरि सांसद, मन्त्री र निर्णायकका रूपमा स्थापित हुनु हाम्रो राजनीतिक संरचनाको गहिरो रोग हो। राजनीतिक दलहरूले यिनलाई रोक्न खोजेनन्; बरु योग्य घोषित गर्दै पुरस्कृत गरे। यही अभ्यासले— जनताको विश्वास क्षय बनायो, लोकतन्त्रको नैतिकता क्षीण गर्यो र राज्यको पवित्रता नष्ट गर्यो।
परिवर्तन आन्दोलनले होइन—योग्य नेतृत्वले सम्भव हुन्छ
यदि परिवर्तन गोली, मृत्यु र बलिदानबाटै सम्भव हुने भए, नेपालमा अबसम्म सबै समस्या समाधान भइसकेको हुन्थ्यो। समस्या आन्दोलनको कमी होइन, योग्य नेतृत्वको कमी हो।
देशलाई अब चाहिने नेतृत्व—
शिक्षित,नीतिगत ,नैतिकवान,भू–सांस्कृतिक चेत भएको,समाज र राजनीतिक विज्ञानको ज्ञानयुक्त ,मा चाेखाे विचार पवित्र,विशुद्ध नागरिक भावना बोकेको हुनुपर्छ
राजनीति सबैको खेल होइन—योग्यता अनिवार्य छ
राजनीति गर्ने पात्रमा निश्चित ‘मापदण्ड’ हुनैपर्छ। नेतृत्व—शिक्षा, नैतिकता, सामाजिक ज्ञान, जिम्मेवारी र जन–बोधका आधारमा छनोट हुन सकेन भने, देश पुनः–पुनः गलत हातमा परिरहन्छ।
स्वतन्त्र पेशागत वर्गको भूमिकाः परिवर्तनको वास्तविक मोर्चा
शिक्षक, विद्यार्थी, पत्रकार, वकिल, कर्मचारी, बुद्धिजीवी—यी सबै राजनीतिक दलको प्रत्यक्ष–अप्रत्यक्ष कब्जाबाट मुक्त हुन सकेनन् भने परिवर्तन असम्भव छ। यिनै वर्ग स्वतन्त्र भएर—विवेक,दक्षता,पेशागत निष्ठा र ज्ञान–आधारित नेतृत्व बनाएर अघि बढे देश सही मोडमा जान सक्छ।
निष्कर्ष :अब आवश्यक छ—राष्ट्रिय जागरण, योग्य नेतृत्व र राजनीतिक स्वच्छता – देश दिगो रूपमा बदलिनु छ भने— अपराधीकृत राजनीति बन्द गर्नुपर्छ। दलहरूको ‘ठेकेदार–दलाल’ संस्कृति तोड्नुपर्छ।
जनताले आफ्नो विवेक जागाउनु पर्छ। योग्य नेतृत्व चयनमा समाज सक्रिय हुनुपर्छ। हामीले तय गर्नुपर्ने के हो भने—देश परिवर्तनका लागि पुराना नारा होइन,नयाँ चेत आवश्यक छ। सिस्टम बदल्नुपर्छ, तर त्योभन्दा पहिला सिस्टम चलाउने मानिस बदलिनै पर्छ। यदि यो चेत समाजमा फैलियो भने, नेपालले स्थायी र न्यायोचित भविष्य निर्माण गर्न ढिलो लाग्दैन।





