तामझामविहीन अभियानबाट जनताको मन जित्दै : स्वतन्त्र उम्मेदवार यमुना केसीको सरल शैलीले बढ्यो भरोसा

 

सुनसरी : सुनसरी जिल्ला क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी सामाजिक अभियन्ता यमुना के.सी. अहिले कुनै तामझाम, भीडभाड वा प्रचारको आडम्बर बिना एक्लै घरदैलो अभियानमा जुटिरहेकी छन्।

बिज्ञापन

सामान्य पोशाक, हातमा आफ्ना एजेन्डा र मनमा जनताको दुःख सुन्ने चाहना बोकेर उनी टोल–टोल पुग्दा मतदाताले “नेता होइन, आफ्नै मान्छे” आएको अनुभूति गरिरहेका छन्।

दीर्घकालदेखि सामाजिक सेवामा सक्रिय के.सी.ले चुनावलाई शक्ति प्रदर्शनको प्रतिस्पर्धा नभई जनविश्वासको परीक्षा ठानेकी छन्। यही कारण उनले ठूलो जुलुस, गाडीको लस्कर वा नाराबाजीभन्दा मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएकी छन्। घरको आँगन, खेतको डिल, पसलको चौतारी वा बाटोमै भेटिएका नागरिकसँग उनी आफ्ना योजना सुनाउने मात्र होइन, उनीहरूको समस्या ध्यानपूर्वक सुन्ने गर्छिन्।

उनले सार्वजनिक गरेका ११ बुँदे एजेन्डामा विकास, सुशासन र सामाजिक न्यायको स्पष्ट रूपरेखा देखिन्छ। धार्मिक तथा ऐतिहासिक स्थल रामधुनी लाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने योजना उनको प्रमुख प्राथमिकतामध्ये एक हो। यसले पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास उनले व्यक्त गरेकी छन्।

युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्ने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने, शिक्षा–स्वास्थ्य–खानेपानी निःशुल्क बनाउने, कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरण गर्ने जस्ता प्रतिबद्धताले मतदातामा आशा जगाएको छ। प्रत्येक स्थानीय तहमा गुरुकुल विद्यालय सञ्चालन, सञ्चार क्षेत्रको विकास, यातायात सुधार, निःशुल्क इन्टरनेट सेवा र विद्यालयमा ICT ल्याब स्थापना गर्ने योजना उनले प्रस्तुत गरेकी छन्।

त्यसैगरी मठ–मन्दिर, गौशाला, धर्मशालालगायत धार्मिक संरचनाको संरक्षण तथा सबै जातजातिको धर्म–संस्कृतिको सम्मान सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। जेन्जी पुस्ताका माग सम्बोधन गर्ने र महिलाको सहभागितालाई प्राथमिकता दिने घोषणाले युवा र महिलावर्गबाट विशेष समर्थन पाइरहेको स्थानीयहरू बताउँछन्।

मतदाताहरूका अनुसार के.सी.को सबैभन्दा ठूलो शक्ति उनको सरलता र निस्वार्थ व्यवहार हो। “अरू उम्मेदवारहरू भीड र प्रचारसँग आउँछन्, उहाँ भने एक्लै आउनुहुन्छ, हाम्रो कुरा सुन्नुहुन्छ,” एक स्थानीय बासिन्दाले भने।

के.सी.ले भनेकी छन्, “जनताको विश्वास जित्न महँगो प्रचार होइन, सच्चा नियत चाहिन्छ। म चुनाव जित्न मात्र होइन, जनताको आवाज संसदसम्म पुर्‍याउन आएको हुँ।”

यसरी कुनै तामझाम बिना, जनताको ढोकामै पुगेर संवाद गरिरहेकी यमुना के.सी.को अभियानले सुनसरी–४ को चुनावी वातावरणमा फरक सन्देश दिएको छ—सादगी, सेवा र संकल्प नै सच्चा राजनीति हो। – कोशी अपडेट बाट