

बनेपा। आभाष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औँ वार्षिकोत्सव भव्य रूपमा मनाउँदै संस्थाका १ सय ९७ जना ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ। बनेपा, भकुण्डे र पनौती क्षेत्रका सेवा केन्द्रमार्फत सक्रिय ज्येष्ठ सदस्यहरूलाई यस वर्ष विशेष सम्मान प्रदान गरिएको हो।




मुख्य अतिथि, बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले ज्येष्ठ सदस्यहरूलाई सम्मान प्रदान गर्दै सहकारीलाई “आर्थिक कारोबार मात्र होइन, अनुभव र ज्ञान साटासाट गर्ने सामाजिक परिवार”का रूपमा व्याख्या गरे। उनको भनाइमा ज्येष्ठ सदस्यहरूको जीवन–अनुभव नै आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।

बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले सहकारीले सामाजिक रूपान्तरणदेखि घर–परिवारको आर्थिक उन्नतिमा महत्वपूर्ण योगदान फर्काइरहेको बताए। उनले सहकारी क्षेत्रलाई पारदर्शी बनाउन कानून उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने प्रतिबद्धता पनि दोहोर्याए।
उप–प्रमुख विमला सापकोटाले सहकारीले विशेषगरी महिलालाई उद्यमशीलतामा उन्मुख गराउँदै आत्मनिर्भर बनाउन मद्दत पुर्याएको उल्लेख गरिन्।

सहकारीका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले आभाष साकोसले सदैव सदस्यमुखी नीति, उद्यम प्रवद्र्धन र सेवा–गुणस्तरमा जोड दिएको बताए।
कार्यक्रममा अध्यक्ष ग्रुबेन तौजले ज्येष्ठ सदस्यको सल्लाह र युवा पुस्ताको अपेक्षा अनुसार संस्था अघि बढिरहेको जानकारी दिए। सहकारीले स्वास्थ्य शिविर, वातावरण संरक्षण जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम नियमित गर्दै आएको उनीहरूको भनाइ थियो।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद कुमार न्यौपानेले सहकारीले बचतको संस्कार र आर्थिक अनुशासन निर्माणमा ठूलो भूमिका खेलेको टिप्पणी गरे।

कार्यक्रममा उपाध्यक्ष प्रकाश कायस्थ र सचिव धर्मभक्त प्रधानले ज्येष्ठ सदस्य लक्षित गतिविधि तथा योजनाहरूको विवरण सार्वजनिक गरेका थिए। संस्था प्रत्येक महिना रु ५ सय बचत गर्ने ज्येष्ठ सदस्यलाई निरन्तर सम्मान गर्दै आएको छ।
यस वर्ष उत्कृष्ट बचतकर्ताका रूपमा भैरव बहादुर श्रेष्ठलाई विशेष सम्मान प्रदान गरिएको आभाष साकोसले जनाएको छ।




