विद्यार्थीमै केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 

पाँचखाल, काभ्रे। आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पाँचखाल–११ स्थित श्री भगवती उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित शिक्षण सत्रमा बचत, बजेट निर्माण, खर्च व्यवस्थापन, वित्तीय सेवा प्रदायक छनौट तथा डिजिटल सुरक्षा जस्ता व्यवहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

बिज्ञापन

कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक राम प्रसाद पन्तको अध्यक्षतामा सञ्चालन गरिएको थियो। सहकारी संस्थाकी बचत इञ्चार्ज सबिता नेपालले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने आर्थिक–प्रशासन विभाग प्रमुख मनुप सापकोटाले समयानुकूल विषयवस्तुहरू उदाहरणसहित प्रस्तुत गरेका थिए।

सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले कार्यक्रमका लागि समय तथा स्थान व्यवस्थापन गरिदिएकोमा विद्यालय परिवार प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गरे। साथै, कार्यक्रममा सक्रिय सहभागिता जनाएका शिक्षक तथा विद्यार्थीहरूप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।