
काठमाडौं । काठमाडौंका नदी किनार आसपासका सबै सुकुमवासी बस्तीमा सरकारले आज डोजर चलाउँदैछ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ (वंशीघाट), १४ (बल्खु), १५ (स्वयम्भू), १६ (बालाजु) तथा वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रमा बस्ती खाली गराउने कार्य सुरु गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली परिचालन भइसकेको छ । प्रशासनले यसअघि नै सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैसाथ बस्ती खाली गराइने जनाएको थियो ।

नदी किनारमा जोखिमपूर्ण अवस्थामा रहेका तथा सरकारी, सार्वजनिक, पर्ति र निजी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका बस्ती हटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रशासनले जनाएको छ।


सूचना अटेर गरी बस्ती नछाडेमा घरटहरा भत्किँदा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने चेतावनी समेत प्रशासनले दिएको छ।
प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा सर्न, बालबालिका, वृद्ध तथा बिरामीलाई प्राथमिकतामा राख्न र आवश्यक परे सुरक्षा निकायसँग सहयोग लिन आग्रह गरिएको छ। साथै, वास्तविक भूमिहीन परिवारलाई अस्थायी बसोबासको व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि पहिचान प्रक्रिया अघि बढाइने जनाइएको छ।
यसअघि वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायतका क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिएको थियो।


