काठमाडौँ, राजन थापा
२०८२ जेठ ३१ गते — सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क दन्त सेवा प्रवाह गर्ने उद्देश्यले ॐ समाज डेन्टल अस्पताल र मञ्जुश्री असाहाय संरक्षण केन्द्र, काठमाडौं शाखाबीच र कायरा बिउटिपालर साथै ट्रेनिङ सेन्टर बिच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार नेपालका ६७ जिल्लामा सक्रिय मञ्जुश्री केन्द्रमार्फत आर्थिक रूपमा कमजोर, गरिब तथा असहाय वर्गका व्यक्तिहरूलाई निःशुल्क दन्त स्वास्थ्य सेवा प्रदान गरिनेछ। यस कार्यक्रमले विशेषगरी दुर्गम क्षेत्रका सेवा–वञ्चित समुदायलाई लक्षित गर्ने बताइएको छ।
हस्ताक्षर कार्यक्रममा ॐ समाज डेन्टल अस्पताल बनस्थली शाखाकी प्रमुख सबिना पापन गुरुङ, अस्पतालका वरिष्ठ डेन्टिस्ट डा. सुवास घिमिरे, सामाजिक अभियन्ता तथा पत्रकार एवं तारकेश्वर क्लबका अध्यक्ष राजन थापा, र मञ्जुश्री केन्द्र काठमाडौं शाखाकी अध्यक्ष मीना बस्नेतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै डा. सुवास घिमिरेले भने,
“देशमा अझै पनि धेरै नागरिक आर्थिक अभावका कारण सामान्य स्वास्थ्य सेवा समेत लिन सक्दैनन्। हाम्रो अस्पताल नाफामुखी संस्था होइन, सेवा–मुखी संस्था हो। दुःखी, गरिब, असहायहरूप्रति सेवा गर्ने हाम्रो संकल्प निरन्तर रहनेछ।”
समझदारीपछि दुबै संस्थाले आगामी दिनमा संयुक्तरूपमा दन्त स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम तथा सामाजिक सेवा केन्द्रित गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।