
प्रतिनिधि सभा क्षेत्र नं. १ : एमाले महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन गर्न गाउँ कमिटी अध्यक्षहरुको लिखित आग्रह


काभ्रे — प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा हुने नेकपा (एमाले) को महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियामा सर्वसम्मति कायम गर्न गाउँ कमिटी अध्यक्षहरूले लिखित सुझाव दिएका छन्। आगामी महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र सौहार्दपूर्ण वातावरण बनाउने उद्देश्यसहित अध्यक्षहरूले सर्वसम्मत प्रतिनिधि छनोटमा जोड दिएका हुन्।


क्षेत्र नं. १ मा खुला ६ पदका लागि २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, महिला ४ पदका लागि ९ जनाले तथा युवा १ पदका लागि ७ जनाले आवेदन दिएका छन्। उम्मेदवारी संख्या धेरै भएकाले समन्वय र सहमतिमार्फत प्रतिनिधि चयन गर्न सुझाव आएका बताइएको छ।

पार्टीका अनुसार मतदान मंसिर १३ गते शनिबारका दिन हुने तय गरिएको छ। उम्मेदवारहरूबीच छलफल, सहमति र आवश्यक परामर्शको प्रक्रिया जारी रहेको समितिले जनाएको छ।



