



सामाजिक सेवाको क्षेत्रमा प्रेरणादायी कार्य गर्दै आएको आर्शु स्मृति प्रतिष्ठान नेपाललाई एकै दिन दुई प्रतिष्ठित राष्ट्रिय सम्मान प्राप्त भएको छ।



समारी इन्टरनेशनल इभेन्टको आयोजनामा भक्तपुरको बोडेस्थित कृषि विकास बैंक सभा हलमा सम्पन्न “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड–२०८२” कार्यक्रममा प्रतिष्ठानलाई “राष्ट्रिय सामाजिक उत्कृष्ट संस्था” को रूपमा सम्मान गरिएको हो। उक्त सम्मान प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामाले प्रदान गरेकी थिइन्।

त्यसैगरी, बनेपामा सम्पन्न “किड्स अफ द इयर इन्टरनेशनल २०२५” कार्यक्रममा समेत प्रतिष्ठानलाई सामाजिक उत्कृष्ट संस्थाको रूपमा सम्मान गरियो। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम र अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले उक्त सम्मान प्रदान गरेका थिए।
वि.सं. २०७८ फागुन २६ गते आफ्नी छोरी आर्शु कालेलाई गुमाउनु परेको पीडालाई समाजसेवामा रूपान्तरण गर्दै हरेराम काफ्ले र सुस्मिता लामिछानेले स्थापना गरेका आर्शु स्मृति प्रतिष्ठान आज सामाजिक सेवाको एक उज्यालो प्रतीकका रूपमा स्थापित भइसकेको छ। २०७८ चैत २० गते स्थापना भएको यो संस्था आर्थिक अभावका कारण उपचार नपाएका नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने मूल उद्देश्यका साथ अगाडि बढिरहेको छ।
धुलिखेल अस्पतालसँग सहकार्यमा धेरै गम्भीर बिरामीहरूको सफल उपचार गरिसकेको प्रतिष्ठानले शैक्षिक सामग्री वितरण, रक्तदान कार्यक्रम, वृद्धाश्रममा खाद्य सहयोग, कम्प्युटर सुविधा स्थापना जस्ता विविध सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
आर्शुको स्मृतिमा समर्पित यो अभियानले दुःखी र विपन्न वर्गको जीवनमा आशा, सहारा र सेवा–समर्पणको उज्यालो फैलाउँदै आएको छ। यही समर्पण र सकारात्मक प्रभावका कारण आर्शु स्मृति प्रतिष्ठान नेपालले राष्ट्रिय रत्न सम्मान २०८२ सहित राष्ट्रिय स्तरका दुवै अवार्ड प्राप्त गर्न सफल भएको हो।
यो उपलब्धि सम्पूर्ण नेपाली समाजका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ।