
नन्दलाल खरेल
। देशभरका वामपन्थी शक्तिहरूबीच लामो समयदेखि चल्दै आएको सहकार्य र एकताको प्रयासले ऐतिहासिक रूप लिन लागेको छ। दस वामपन्थी पार्टीहरूको एकता पश्चात गठन भएको नेपाली कम्युनिस्ट पार्टी र मातृभूमि राष्ट्रिय जागरण अभियान–नेपालबीच आज कार्तिक २६ गते राष्ट्रिय सभागृह, काठमाडौंमा भव्य एकता कार्यक्रम हुने भएको छ।


यस कार्यक्रमलाई वाम आन्दोलनको नयाँ अध्यायको रूपमा हेरिएको छ। देशभरका वामपन्थी कार्यकर्ता, बुद्धिजीवी, किसान, मजदुर र युवाहरूको व्यापक उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकहरूले कार्यक्रमलाई ऐतिहासिक एकता दिवसको रूपमा मनाइने बताएका छन्।


यो एकता केवल संगठनगत मात्र नभई विचारगत र नीतिगत रूपमा पनि वामपन्थी आन्दोलनलाई सशक्त बनाउने कदमका रूपमा लिइएको छ। नयाँ युगको सुरुवात, राष्ट्रिय स्वाभिमानको संरक्षण, जनअधिकारको प्रत्याभूति र समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यसहित दुवै पक्ष एकताबद्ध हुने भएका छन्।

त्यसैगरी, वामपन्थी आन्दोलनका प्रभावशाली नेता डाक्टर भीम रावल चाँडै नेपाली कम्युनिस्ट पार्टीमा औपचारिक रूपमा सहभागी हुने सम्भावना रहेको स्रोतले जनाएको छ। उनको प्रवेशले नयाँ पार्टीको वैचारिक र राजनीतिक प्रभाव अझ बढ्ने अपेक्षा गरिएको छ।
आगामी राजनीतिक दिशानिर्देशन र एकीकृत कार्यक्रम सार्वजनिक हुने उक्त समारोहमा सबै देशभक्त, वामपन्थी तथा जनवादी शक्तिहरूलाई उपस्थित रहन हार्दिक अनुरोध गरिएको छ ।


