समाजवादको नेतृत्व नेपाली कम्युनिस्ट पार्टी : चिरन सी

 

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता चिरन सीले समाजवादको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले अहिले देशभर छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै पार्टीमा आवद्ध हुन आह्वान गरे ।

बिज्ञापन

उनले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’लाई समेत एकताको यात्रामा सहभागी हुन अपिल गर्दै भने, “अब व्यक्तिगत अहंकार र साना समूहका सीमित स्वार्थ छोडेर वर्गीय एकता अपरिहार्य छ ।” चिरन सीले देशमा समाजवादी रुपान्तरणको नेतृत्व लिनसक्ने क्षमता नेपाली कम्युनिस्ट पार्टीसँग मात्र रहेको दाबी गर्दै अन्य कम्युनिस्ट नामधारी समूहहरूलाई ‘नाङ्लो पसल’ भन्दै ती सबै बन्द गर्नुपर्ने बताए ।

कार्यक्रममा उनले देशभरका श्रमिक, किसान, विद्यार्थी र युवालाई समाजवादी आन्दोलनमा सक्रिय हुन आग्रह गरे । पार्टीका क्रान्तिकारी गीतहरूले हल उत्साहमय बनेको थियो । चिरन सी स्वयंले पनि एक क्रान्तिकारी गीत गाएर उपस्थित कार्यकर्ताहरूलाई नचाएका थिए ।

उनले अन्त्यमा भने, “हामी एकताको बाटोमा छौं । अबको लक्ष्य समाजवाद र जनताको शासन हो ।” कार्यक्रममा विभिन्न बामपन्थी दलका प्रतिनिधिहरू, युवा कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।