
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ।
उद्घाटन कार्यक्रम हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा बुधबार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले निरीक्षण गरेको हो।

उपमहासचिव ज्ञवाली, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको संरचना, व्यवस्था र सम्भावित भीड व्यवस्थापनबारे अनुगमन गरे। ज्ञवालीका अनुसार उक्त चौरमा करिब दुई लाख दर्शक अट्ने क्षमता छ र महाधिवेशन उद्घाटन दिन स्थल भरिभराउ हुने अनुमान गरिएको छ। उनले महाधिवेशनका तयारीहरू उत्साहजनक रूपमा अघि बढिरहेको बताए।

प्रचार विभाग प्रमुख गौतमले मञ्च तथा अन्य संरचनाहरु कसरी बनाउने भन्ने तयारी स्वरूप निरीक्षण गरिएको बताए। उनका अनुसार मञ्च निर्माणदेखि व्यवस्थापनसम्म करिब ६०० स्वयंसेवक पोसाक सहित खटिनेछन्।


पार्टी जिल्ला उपाध्यक्ष किरण थापाका अनुसार आजदेखि नै डोजरमार्फत कार्यक्रमस्थल तयार गर्ने काम सुरु भइसकेको छ।


