बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ् द्वारा तिपेनी,भोताङ देखि मेलम्ची सम्मको सडक निर्माण कार्यको शिलान्यास

सिन्धुपाल्चोक – मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर) ले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको बताउनुभयो । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भएको धारणा दावी गर्नुभयो । साथै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबै प्रति आभार पनि व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै यो सडकले मेलम्ची क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विशेषत पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइनको रुपमा रहेको यस सडकको ३२ किलोमीटर क्षेत्रलाई पुरा गर्नेगरी आफु लागि परेको बताउनुभयो । सडक,सिंचाइ,पुल लगायत यहाँको भौतिक तथा समाजिक विकासको लागी आफुले निरन्तर पहल गरिरहेको मन्त्री तामाङले बताउनुभयो ।

बिज्ञापन

कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले लामो समयदेखि बन्न नसकेको यस सडक धेरै प्रयासपछि बन्न लागेको बताउनुभयो । सबैको अथक प्रयास पछि बजेट पार्न सफल भएको बताउँदै कसैले पनि व्यक्तिगत तथा पार्टीगत रुपमा जस लिन जरुरी नरहेको प्रमुख तामाङको तर्क थियो । पर्यटकीय धार्मिक स्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको भएको धारणा व्यक्त गर्नुभयो । साथै यस सडकका कारण मेलम्ची नगरपालिकाले धेरै आलोचना खेप्नु परेको बताउँदै छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेको सडक कालोपत्रेका लागी आज शिलान्यास गर्न पाँउदा खुशी लागेको बताउनुभयो । उहाँले पुर्व भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल,अमन मास्के,कृष्णकुमार तामाङ समिर लगायत आफुहरुको लगातारको मिहेनत र संघर्ष पश्चात् आज गौरवको योजनाको सुरुवात भएको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौतारा बाट ईफाता/गेहेन्द्र जे.भी. सँग ९ करोडको ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको सो सडक परियोजनाले स्थानीय बासिन्दालाई सहज आवागमन र बजार पहुँच प्रदान गर्नेछ ।पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर प्रकाश पौडेललो अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची वडा नम्बर १० का अध्यक्ष अमृत खनाल, वडा नम्बर ९ का अध्यक्ष किरण दिप खड्का लगायत पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय लगायतको बाक्लो सहभागिता रहेको थियो ।