-जयराम बिडारी

असार ८,काठमाडौं ।
मनको मझेरी, सपनामा नआउ तिमी जस्ता कर्णप्रिय गीतको रचना गरेर प्रशिद्धि कमाइसकेका कवि,गीतकार तथा साहित्यकार सुभाषचन्द्र पौडेल “भीमफेदीया”को रचनामा अर्को एक नवीन गीत ‘जिन्दगीको के भरोसा’ सार्वजनिक गरिएको छ ।

शुक्रवार अनामनगरस्थित डालो रेस्टोरेन्टमा आयोजित विशेष कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाको प्रमुख आतिथ्य , संगीतकार नरहरी ‘प्रेमी’ तथा गायिका अपेक्षा खनाल तथा सुपरिचित साहित्यकारहरुको बाक्लो उपस्थितिका बीच उक्त गीत सार्वजनिक गरिएको थियो ।

सो समारोहमा स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”लाई अध्यक्ष लेकाली, प्रमुख अतिथि बित्यासी र वरिष्ठ साहित्यकार महेश प्रसाईँले टोपी, माला र पुष्पबृष्टि गरी सम्मान गरेका थिए ।

लोकार्पित गीतका बारेमा समीक्षात्मक टिप्पणी गर्दै कथाकार, तथा राससका पूर्व महाप्रवन्धक,वरिष्ठ पत्रकार श्रीरामसिहं बस्नेतले गीत,संगीत र रचनाको स्तरका बारेमा सम्पूर्ण मानकहरु ध्वस्त भइरहेको आजकलको साङ्गितक क्षेत्रमा सदावहार शब्द सम्योजन गर्न खप्पिस भीमफेदीया कुशल गीतकार रहेको बताए ।उनले भीमफेदीयासंगको आफ्नो मित्रता निक्कै पुरानो रहेको उल्लेख गरे । यसैगरी भीमफेदीयाले वर्षको केवल एक मात्र गीत नियमित रुपमा रेकर्ड गराएका भएपनि आज स्थापित गीतकारका रुपमा परिचित भइसकेका हुने उनी अहिले पनि नवोदित रचनाकार जस्ता उपमाले परिचित हुनुपरेकोमा दुखेसो व्यक्त गरे ।

यसैगरी कार्यक्रमको प्रमुख अतिथिका भूमिकामा रहेका वसन्त ‘वित्यासी’ थापाले सङ्गीत क्षेत्रलाई व्यवस्थित र मर्यादित तुल्याउनु पर्ने बताउँदै प्रतिलिपि अधिकार ऐनका बारेमा उल्लेख गरे । उनले बौद्धिक सम्पत्तिको सम्रक्षणमा संघ कटिबद्ध रहेको बताउँदै भीमफेदीयाका गीतले समाजको ऐनाको रुपमा दृष्टि निर्माण गरेकोले कालजयी गीतका रुपमा स्थापित हुने विचार व्यक्त गरे ।

यसैक्रममा संगीतकार नरहरी प्रेमीले भीमफेदीयाका गीतले सान्दर्भिक र समसामयिक बिषयलाई मार्मिक ढंगले उठाएकोले आफूलाई संगीत भर्न लालायित बनाएको उल्लेख गर्दै गीतको सफलताका लागि शुभकामना व्यक्त गरे । उक्त अवसरमा गायिका अपेक्षा खनालले संघर्षको चरणमा रहेको आफूलाई क्षमता निखार्ने अवसर प्रदान गरिएकोमा आभार व्यक्त गर्दै गीत सुनाएर सवैलाई मन्त्रमुग्ध बनाएकी थिइन् । सो अवसरमा स्रष्टा तथा गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीयाले’ गीतको रचना गर्भबारे प्रकाश पार्दै उपस्थित अभ्यागतहरुलाई आभार व्यक्त गरे ।

कवि मुरारी सिग्देलद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा शब्दपथका प्रधान सम्पादक किशोर पहाडी, प्रा.डा.गोविन्दमान सिंह कार्की दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकारहरु विजयध्वज थापा,महेश प्रसाईं,युवराज मैनाली, ठाकुर शर्मा गङ्गाप्रसाद भेटवाल, रचनाका सम्पादक प्रतीक घिमिरे, सन्तोष श्रेष्ठ, मन्जिला अनिल, उषा केसी, नवराज पराजुली, बन्दना पौडेल, मोहन पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz