आर्थिक विकास मित्र सहकारीको १९औं वार्षिक साधारण सभा सम्पन्न

काभ्रेपलाञ्चोक — पाँचखाल नगरपालिका–४ मा केन्द्रीय कार्यालय रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले सहकारीहरू युवालाई विदेश पलायनबाट रोक्दै स्वरोजगारमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले पाँचखाल क्षेत्रमा उत्कृष्ट रूपमा कार्य गर्दै आएको आर्थिक विकास मित्र सहकारीले सामाजिक उत्तरदायित्वका कार्यमा समेत सहकार्य गर्दै अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

बिज्ञापन

विशेष अतिथि उपप्रमुख सूर्यमाया दनुवारले संस्थाले सदस्यहरूको बचतको सुरक्षा र निष्पक्ष सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सबै शेयर सदस्यहरूलाई उपलब्ध हुने सुविधा र प्रक्रियाबारे स्पष्ट जानकारी दिन आग्रह गर्नुभयो।

जिल्ला समन्वय समितिकी प्रवक्ता अप्सरा ढुंगाना सिपखानले सहकारीको स्थापनाको उद्देश्य आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्व रहेको भन्दै संस्था त्यस दिशामा निरन्तर अघि बढिरहेको बताउनुभयो।

सभामा अध्यक्ष बाबुकाजी पराजुलीले वार्षिक प्रतिवेदन, सचिव रामप्रसाद कोइरालाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष दामोदर दुलालले आर्थिक प्रतिवेदन, र सुपरिवेक्षण संयोजक बद्रीप्रसाद आचार्यले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

संस्थामा हाल ११,३४० शेयर सदस्य, ४,३१९ बाल बचतकर्ता, १० करोड २० लाख रुपैयाँ शेयर पूँजी, ८३ करोड निक्षेप, र १ अर्ब २२ करोड वासलात रहेको छ।

कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीका अनुसार वार्षिक सभाको अवसरमा ‘आर्थिक विकास अवार्ड’सहित विभिन्न विधामा उत्कृष्ट बचतकर्ता, ऋणी, बाल बचतकर्ता, कर्मचारी र व्यवसायीलाई सम्मान गरिएको थियो।