



काठमाडौँ । बनेपा–६, काभ्रेपलाञ्चोकस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार–२०८२ प्राप्त गरेको छ।



नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३८औँ स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित विशेष समारोहमा उक्त घोषणा गरिएको हो। संघले आवद्ध सहकारी संस्थामध्येबाट उत्कृष्ट एक साकोसलाई वार्षिक रूपमा यो पुरस्कार प्रदान गर्दै आएको छ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी प्रमुख अतिथि रहनुभएको थियो। उहाँले सहकारी अभियानमा उल्लेखनीय योगदान पु¥याएका व्यक्ति तथा संस्थाहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गर्नुभयो। संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले विजेता सहकारी र व्यक्तिहरूको नाम सार्वजनिक गर्नुभएको थियो।
बुडोल सामुदायिक साकोसका अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेक राज ठकुरीसहित सञ्चालक तथा कर्मचारी टोलीले पुरस्कार ग्रहण गरेका थिए। यसअघि पनि सो संस्थाले २०७४ सालमा नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार जितिसकेको थियो।
सफलताको यात्रा
२०५० सालमा स्थापना भएको बुडोल सामुदायिक साकोस हालसम्म १९ हजार ५७३ सदस्यसहित प्रदेशकै ठूला सहकारी संस्थामध्ये एक बनेको छ। संस्थाको कुल सम्पत्ति २ अर्ब १८ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने संस्थागत पुँजी १७ करोड रुपैयाँ नाघिसकेको छ।
सहकारी स्तरीकरण कार्यक्रम एक्सेस मा आवद्ध भई यसले २०६९ सालमा एक्सेस ब्रोञ्ज र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरिसकेको छ। त्यस्तै, २०७० सालमा यस संस्थाले राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार पनि जितिसकेको थियो।