बुडोल सामुदायिक साकोसका ज्येष्ठ सदस्य शान्तिधाम तीर्थाटनमा

काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ सदस्यहरूका लागि काठमाडौंको तारकेश्वरस्थित शान्तिधाम दर्शनसहित एकदिने तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत महिला तथा सामाजिक–सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन्न कार्यक्रममा २७५ जना ज्येष्ठ सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा धार्मिक प्रवचन, भजन–कीर्तन तथा सामूहिक भोजनको व्यवस्था गरिएको थियो।

बिज्ञापन

संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेक राज ठकुरीले सहकारी केवल आर्थिक कारोबारमा सीमित नभई सदस्यको सामाजिक, मानसिक र भावनात्मक पक्षमा पनि जिम्मेवार हुनुपर्ने बताए।

“ज्येष्ठ सदस्यहरू हाम्रो सहकारी अभियानका आधारस्तम्भ हुन्, उहाँहरूको सम्मान, शान्ति र आपसी सद्भावका लागि यस्ता कार्यक्रम निरन्तर गरिँदै आएका छन्,” ठकुरीले भने।

संस्थाका अनुसार ज्येष्ठ सदस्यहरूको मानसिक शान्ति, सामाजिक भेटघाट र आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले विगत तीन वर्षदेखि यस्ता तीर्थाटन कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

बुडोल सामुदायिक साकोसले आर्थिक गतिविधिसँगै सामाजिक तथा मानवीय उत्तरदायित्वलाई पनि सहकारीको मूल भावना मानेर अघि बढिरहेको सन्देश यस कार्यक्रममार्फत दिएको छ।