

काभ्रेपलाञ्चोकको विकट गाउँ खानिखोलामा जन्मेर जीवनका अनेक सामाजिक र आर्थिक चुनौतीहरूसँग जुझ्दै हुर्किएकी प्रमिला तितुङ (तामाङ) आज एक सशक्त, प्रेरणादायी र समर्पित स्वास्थ्यकर्मीका रूपमा अन्तर्राष्ट्रियस्तरमै परिचित हुनुहुन्छ। नर्सिङ पेशामार्फत समाज सेवामा समर्पित प्रमिलाको यात्राले हजारौं नेपाली युवाहरूलाई प्रेरणा दिएको छ।


उहाँले आफ्नो साहस र आत्मबलको परिचय दिँदै खाडी मुलुक दुबईमा नर्सिङ अध्ययन गर्नु भयो। अध्ययनकै क्रममा सेवा कार्यमा निरन्तर लागिरहनु भएको प्रमिला अहिले क्यानडामा एक कुशल नर्सका रूपमा कार्यरत हुनुहुन्छ। जहाँ भए पनि नेपाली पहिचान बोकी मानव सेवामा समर्पित रहनु भएको उहाँको प्रतिबद्धता अनुकरणीय छ।



यिनै योगदानलाई उच्च मुल्यांकन गर्दै “राष्ट्रिय रत्न सम्मान तथा अवार्ड–२०८२” बाट प्रमिला तामाङलाई “अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान–२०८२” प्रदान गरिएको छ। उक्त सम्मान कार्यक्रम भक्तपुरको बोडेस्थित कृषि विकास बैंक सभाहलमा समारी इन्टरनेशनल इभेन्टको आयोजनामा सम्पन्न भएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य छिरिङ ल्हामु लामाले प्रमिलालाई सम्मान प्रदान गर्नुभयो।
स्वास्थ्य सेवा, साहस, निष्ठा र अन्तर्राष्ट्रिय पहिचानको यो सफल यात्राले सम्पूर्ण नेपाली समाजलाई गौरवान्वित तुल्याएको छ।