सामाजिक विषयवस्तुमा चलचित्र ‘रुदाक्ष’ बन्ने

काठमाडौँ — चर्चित कलाकार तथा निर्देशक नवीन घिमिरेको निर्देशनमा नयाँ सामाजिक चलचित्र ‘रुदाक्ष’ निर्माण हुने भएको छ। एक विशेष कार्यक्रमका बीच चलचित्रको औपचारिक शुभमुहूर्त गरिनुका साथै आजै एक गीतको छायांकन समेत सम्पन्न गरिएको छ। अमन खानको कथामा बन्न लागेको यस चलचित्रमा समाजमा विद्यमान विभिन्न विभेद र सामाजिक विषयवस्तुलाई प्राथमिकताका साथ उठाइएको छ।
पछिल्लो समय भोटेकोशी बाढी विपद्का समयमा राहत वितरण लगायतका सामाजिक कार्यहरूमा सक्रिय रहेका निर्देशक घिमिरे र उनको टिमले सानो बजेटमै भए पनि समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले यो प्रोजेक्ट अघि बढाएका हुन्।
यस चलचित्रमा निर्देशक घिमिरे स्वयम् मुख्य खलनायकको भूमिकामा देखिनेछन् भने नवकलाकार कविता परियार मुख्य भूमिकामा रहनेछिन्। त्यसैगरी कलाकारहरू अमन खान, इच्छुक खान, दामोदर ढकाल ‘दीपक’ र मिरा अधिकारी लगायत चलचित्रका लागि फाइनल भइसकेका छन् भने बाँकी कलाकारहरूको छनोट कार्य जारी रहेको छ। बाँकी कलाकारको टुंगो लागेसँगै आगामी केही दिनभित्रै चलचित्रको मुख्य छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ।

बिज्ञापन