
काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपालीहरुको सांस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा ल्याइएका ५ गीतले विकृति भित्र्याएको भन्दै प्रचार प्रसारमा प्रतिबन्ध लगाएको छ । सञ्चारकर्मी नेपालको आज बसेको कार्यसमिति बैठकले नेपालीहरुको मौलिक कला संस्कृतिमाथि विकृति भित्र्याएको भन्दै ती गीतहरुलाई प्रतिबन्ध लगाएको हो । सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमद्वारा हस्ताक्षतिर प्रेस विज्ञप्ति जारी गर्दै यस्ता विकृतिजन्य गीतहरुले नेपालको धर्म, संस्कृति र सिङ्गो संगीत क्षेत्रमाथि क्षति पुग्ने बताएको छ । सञ्चारकर्मी नेपालले नेपाल पत्रकार महासंघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ नेपाल, म्यूजिक भिडियो निर्देशक समाज नेपाल, म्यूजिक भिडियो कलाकार संघ नेपाललाई बोदार्थ दिएर सम्पूर्ण सञ्चारकर्मीहरुलाई विकृति ल्याउने गीतहरुलाई प्रचार प्रसार नगरिदिनु अनुरोध समेत गरेको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको विज्ञप्तिमा भनिएको छः
हिन्दू नेपाली महिलाहरुको महान् पर्व ‘हरितालिका तीज–२०८१’लाई लक्षित गर्दै सार्वजनिक भएका विकृतिजन्य गीतहरुप्रति राष्ट्रिय लोक संचारकर्मी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल स्थापना कालदेखि नै गीत सङ्गीतको क्षेत्रमा मौलिक गीतहरुलाई प्रोत्साहन र बिकृतिजन्य गीतहरुको खबरदारी गर्दै आएको संस्था हो । तीज आफैंमा मौलिक पर्व हो । धार्मिक सांस्कृतिक मूल्य र मान्यतासँग जोडिएको यस पर्वको गीत संगीत महत्वपूर्ण बिशेषता हो । यस पर्वको अवसरमा मौलिक गीतहरु सार्वजनिक हुनुपर्ने हो । तर पछिल्लो समयमा सार्वजनिक भएका दर्जनभन्दा बढी गीतहरुले तीजको मौलिक परम्परा माथि प्रहार भएको महसुस भएको छ । यसले धर्म, संस्कृति र सिंगो संगीत क्षेत्रलाई ठुलो क्षति पुग्ने प्रष्ट देखिन्छ । यसलाई मध्यनजर गर्दै मौलिक गीतहरुलाई प्रोत्साहन गर्न र बिकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नको लागि राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सदैव कटिबद्ध रहेको छ । सोहि अनुरुप यस राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको बैठकले तल उल्लेखित केही गीतहरुलाई प्रचारप्रसार गर्न प्रतिबन्ध लगाएको कुरा हाम्रा सम्पूर्ण सदस्य एवम् सञ्चारकर्मीहरुमा जानकारी गराउँदछौं । देशभरका सम्पूर्ण संचारकर्मीहरुले आफ्नो संचारमाध्यममा यस्ता बिकृतिजन्य गीतहरुलाई स्थान नदिनसमेत अनुरोध गर्दछौं । साथै त्यस्ता बिकृतिजन्य गीतहरुलाइ कलाकारहरु जोडिएको संघ संस्थाले पनि ध्यानाकार्षण गरी ऐक्यबद्धता जनाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौं । आगामी दिनमा कलाकार स्वयम्ले पनि आफ्नो सिर्जनाको आफैंले सेन्सर गर्नुहुन पनि अनुरोध गर्दछौं ।
राष्ट्रिय लोक संचारकर्मी नेपालले प्रतिबन्ध लगाएका गीतहरुः–
१. कबिता खत्री र भागिरथ चलाउनेको आवाजमा रहेको ‘दिउँला बरिलै’
२. प्रिति आलेको आवाजमा रहेको ‘मादलु घन्काउँदै’
३. केशर ओली र सुमन थापाको आवाजमा रहेको ‘टिकटकमा भाइरल हल्लाएरै हो’
४ः शान्तिश्री परियार र हरि गिरी बिमर्शीको आवाजमा रहेको ‘बिस्ताराले पोल्यो’
५. प्रिति आले र प्रकाश शर्माको आवाजमा रहेको ‘चियर्स बियर’







                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          