
काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने तयारी गरेको छ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नाम आज सार्वजनिक गर्न लागिएको आयोगले जनाएको छ ।

मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी लिएको थियो । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यता सम्बन्धी उजुरी दर्ता गरिएको हो ।

आयोगका अनुसार दर्ता भएका उजुरीमाथि बुधबार साँझ नै प्रारम्भिक जाँचबुझ सम्पन्न भइसकेको छ । सोही आधारमा आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ ।


निर्वाचन कार्यतालिका अनुसार माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
आयोगमा प्राप्त विवरणअनुसार यसपटक प्रतिनिधिसभा सदस्यका लागि पुरुष ३ हजार ८९, महिला ३९६ र तेस्रो लिङ्गी एक जना गरी कुल ३ हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसपटक जेनजी आन्दोलनका कारण संसद् विघटन भई कार्यकाल पूरा हुनुअघि नै प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते निर्वाचन मिति तोकेको छ ।
निर्वाचनमा कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता सहभागी हुने आयोगको अनुमान छ । तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा अन्य २०० मतदाता रहेका छन् ।


