
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबराले जेनजीबाट थ्रेट आएकाले आफूलाई सुरक्षाका लागि भन्दै प्रहरी ल्याएको जानकारी गराएका छन्।

काठमाडौंको महाराजगञ्जस्थित घरबाट गएराति आफूलाई जेनजीबाट थ्रेट आएकाले सुरक्षाका लागि हिँड्नुहोस् भन्दै नियन्त्रणमा लिएको जबराले बताएका हुन्।

जबराले भने,‘म घरमै थिएँ, जेनजीबाट तपाईंलाई थ्रेट आएको छ। सुरक्षाका लागि हामीसँग हिँड्नुहोस् भन्नुभयो। मलाई अहिले प्रहरी कार्यालयमा ल्याएर राखिएको छ।’ पक्राउ गरिएको हो भन्ने प्रश्नमा उनले आफूलाई उजुरी परेको अन्य कुनै विषयवस्तु जानकारी नगराइएको बताए।


उनी प्रहरी नियन्त्रणमा रहेको भएपनि जबराको पक्राउबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन। उपत्यका अपराध अनुसन्धान कार्यालयमा टेकुमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ। यद्यपि आधिकारिक विवरण प्रहरीले सार्वजनिक गरेको छैन।
२०७५ सालबाट प्रधानन्यायाधीशको कार्यभार सम्हालेका जबरा २०७८ मा कांग्रेस र माओवादी मिलेर संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका थिए। महाअभियोग अगाडि नबढाउँदै संसद्को अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए। त्यसविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहितले रिट दायर गरेका थिए। उक्त समयमा जबरा सर्वोच्चमा उनलाई हाजिर हुन खोजेपनि कानुन व्यवसायीको आन्दोलनका कारण हाजिर हुन नपाई अवकाश पाएका थिए।
गत भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको छ। रिट खारेज गरेसँगै जबराले महाभियोगको अभियोगबाट सफाइ पाएका हुन्

