२४ गतेको निम्ता दिन घरघर जाँदै मण्डनदेउपुर एमाले

|| शनिबार, मंसिर १६, २०८०
२४ गतेको निम्ता दिन घरघर जाँदै मण्डनदेउपुर एमाले

 

कुन्तावेशी, आगामी मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा हुने एमालेको बिशाल सभाको तिब्र तयारीमा एमाले मण्डनदेउपुर लागि परेको छ । नेकपा एमालेले मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गमा शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गतको सभा आगामी मंसिर २४ गते काभ्रेको मण्डनदेउपुरमा भब्य रुपमा हुने भएपछि जसको तयारीमा एमाले काभ्रे र मण्डनदेउपुर कमिटी जुटेको हो ।

बिज्ञापन

शुक्रबार नेकपा एमाले मण्डनदेउपुरको विस्तारित बैठक बसी तयारीलाई तिब्रता दिएको हो । अध्यक्ष शेरबहादु्र डोटेलको अध्यक्षता र नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा बसेको बैठकले मंसिर २४ गते कुन्ताबेशीमा दिउसो हुने जनसभामा उपस्थित हुन सबै नगरवासीलार्ई आव्हान गर्दै सबै घरघर पुगेर निम्ता गर्ने निणर्य गरेको सचिव तुलशी नेपालले जानकारी दिनु भयो ।

जसको तयारीका लागि सबै वडा र टोल कमिटीको बैठक १८ गतेसम्म बस्ने छ । जुन क्रममा वडा नं. ७, ९, ६ र ५ नं. वडाका बैठक नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाको उपस्थितिमा भैसकेका छन । अरु वडाका बैठकमा पनि बाँस्कोटाको उपस्थिति रहने छ । तयारीकै लागि जिल्ला सचिव राजन भुर्तेल, उप–सचिव राजकुमार सापकोटा, पुर्व उप–सचिव रिता ढकाललगातको टिम नगरमा खटी रहेको मण्डनदेउपुर पालिका कमिटीका उप–सचिव सुमन नेपालले बताउनु भयो । बैठकले नगरका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण, मञ्च तथा अन्य प्राविधिक तयारी, युवा परिचालन र प्रचारप्रसारका लागि जिम्मेवारी बाडँफाड समेत गरेको छ ।

संकल्प यात्रा बारे ?
एमालेले आयोजना गरेको बैतडी जिल्लाको नेपाल भारत पश्चिमी सीमा झुलाघाटबाट पाँचथर जिल्लाको नेपाल भारत पूर्वी सीमा चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० पुस १४ गतेबाट प्रारम्भ भएको हो ।

राजनीतिको सत्ता र दल केन्द्रित बढ्दो विसङ्गतिबाट मुलुकलाई मुक्ति दिन, नेकपा एमालेले राजनीतिको एजेन्डालाई सत्ता प्राप्तिभन्दा मुलुकको समृद्धि र नागरिकको सुखका लागि हुनुपर्छ भन्ने आफ्नो स्थापित मान्यतालाई जनताका पक्षमा परिणाममुखी बनाउन सङ्कल्प यात्रा आयोजना गरिएको हो ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा र एमालेको गन्तव्यलाई साकार पार्ने उद्देश्यका साथ झुलाघाटबाट सुरु भएको अभियानमा उत्साहका साथ देशभर नेपाली जनताको साथ र सहयोग नेकपा एमालेप्रतिको विश्वासले हर्ष लागेको बताउनुभएको छ । मध्य पहाडी राजमार्गको करिब एक हजार ८७९ किलोमिटर लामो यो पद यात्रा एमालेको मात्र नभएर आम नेपालीको उत्साह प्रतिविम्वित गर्ने एउटा अवसर बन्ने छ ।
नेकपा एमालेले मूल नेतृत्वसहित आफ्ना करिब १०० नेता गण रहेको समूह प्रदेश र स्थानीय नेतृत्व र तत् तत् क्षेत्रका आम नागरिक सम्मिलित हुने गरी आयोजना गरेको यस पद यात्रामा विशेषतः मध्य पहाडी क्षेत्रका नागरिकको अवस्था बारे अध्ययन, प्रत्यक्ष साक्षात्कार र वस्तुगत अवस्थाको अवलोकन र विकासको अनुगमन समेत गर्नेेछ । करिब तीन साताको यो समय मध्यपहाडलाई समुन्नत बनाउने अठोटका साथ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का रूपमा रहेको छ ।
यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने र भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको बारेमा अध्ययन गरी विकासको खाका बनाउने रहेको छ ।
यात्राका क्रममा निर्धारित मार्गको आसपासका विभिन्न पेसा व्यवसायमा रहेका आम नागरिक, स्थानीय जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता, शिक्षक, विद्यार्थी, किसान, मजदुर, संस्कृति संवाहक समुदायसँग नेतृत्वको खुला छलफल, बहस तथा साक्षात्कार र अध्ययन मनन गर्ने अवसरबाट मुलुकको झन्डै आधा जनसङ्ख्या लाभान्वित हुने छन् । यो यात्रा नेतृत्वले सामूहिक रूपमा नै जनताका गुनासाहरू सुन्ने र दल तथा आफूप्रतिका भ्रम निवारण गर्ने महत्त्वपूर्ण अवसर पनि बन्ने छ । यस अभियानको क्रममा हुने जनता र नेता बिचको अन्तरसंवाद तथा अन्तरघुलनले नेपालको एकता, नेपालको मौलिक संस्कृति जस्ता समृद्धि र गौरवपूर्ण इतिहासका आधारलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस !
up