काठमाडौं राजन थापा जेठ २५
पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको पहिलो कथासंग्रह ‘सत्यम्’को लोकार्पण सम्पन्न भएको छ ।
शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठ, प्रा.डा.गोविन्दराज भट्टराई, साहित्यकार भुवनहरि सिग्देललगायतले पुस्तक सार्वजनिक गरे ।
प्रमुख अतिथि प्रा.डा. श्रेष्ठले कृतिकार वियोगीको प्रसंशा गर्दै कथाका विविध आयामबारे चर्चा गरे । उनले कालजयी र लामो समय बाँच्ने कथा जन्माउनुपर्नेमा जोड दिए ।
प्रा.डा.भट्टराईले एउटा सर्जकका लागि पुस्तक नै महत्त्वपूर्ण भएको उल्लेख गर्दै वियोगीको ‘सत्यम्’मा समयको प्रतिविम्ब झल्किएको बताए ।
कार्यक्रममा डा. अशोक थापा र अनुपमा रेग्मीले कृतिमाथि समीक्षात्मक मन्तव्य राखेका थिए । डा.थापा र रेग्मीले कथामा प्रस्तुत विषयवस्तुबारे चर्चा गर्दै त्यसले वर्तमान समाज र समय बोकेको बताए ।
कथाकार वियोगीले आफ्नो कथा कृति रचना गर्भ बारे बताए ।
कार्यक्रममा असमबाट आएका नेपालीभाषी साहित्यकार ज्ञानबहादुर क्षेत्री, कवि साहित्यकार भुवनहरि सिग्देलले कृतिबारे बोलेका थिए । कार्यक्रम पेज टर्नरले आयोजना गरेको हो