ललितपुर – रोजगारीका लागि बिदेसिएका ललितपुर जिल्लाको बागमती गाउँपालिकाका युवाहरुका कारण गाउँको मुहार फेरीएको छ । रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा रहेका युवाहरुले आफुले कमाएको केहि रकम आफ्नो गाउँको विकासका लागि पठाएका छन् । जसबाट बागमती गाउँपालिका वडा नम्बर ७ स्थित नारायण डाडाँमा श्री नारायणको मन्दिर निर्माण गरिएको छ । करिव ७ लाख लागतमा निर्मित मन्दिरका लागि गिम्दी प्रवासी युवा समाजले रकम जुटाएको हो । मगर समुदायको आस्था जोडिएको उक्त मन्दिर निर्माण भएसँगै स्थानीय खुसी भएका छन् । गिम्दी प्रवासी समाजले यसअघि गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने बागमती गाउँपालिकाका लागि एम्बुलेन्स बरदान सावित भएको स्थानीयले बताएका छन् । विदेसिएका युवाले कोरोना महामारी लगायतका विपदमा समेत आफ्नो गाउँका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन् । सबैले आफ्नो ठाउँबाट योगदान गरेमा गाउँको विकास टाढा नरहेको गिम्दी प्रवासी समाजका संयोजक कष्णबहादुर जर्घा मगरले बताउनुभयो ।

धार्मिक महत्व
उक्त स्थानमा आज भन्दा करिव २ सय वर्षअघि नारायणको मुर्ति स्थापना गरिएको स्थानीयले बताएका छन् । नारायणको मुर्ति स्थापना गरेपछि उक्त ठाउँको नाम नै नारायण डाँडा रहन गएको हो । यस ठाउँमा आदिकालदेखी नै मगर समुदायको बसोबास रहेको छ । उक्त स्थानमा २ सय वर्षअघि हैजा लगायतका रोगको महामारी फैलिएको थियो । महामारीका कारण धेरैले ज्यान गुमाउनुपर्यो । लामो समयसम्म महामारी नरोकिएपछि कारण खोजी भयो । वुझ्दै जाँदा गाउँका जान्ने वुझ्ने र अग्रजले नारायण डाँडा स्थित वर पिपलको रुखसँगै नारायणको मुर्ति स्थापना गरि पुजाआजा गरेमा महामारी हट्ने बताए । सोहि अनुसार मुर्ति स्थापना गरेर पुजापाठ गर्नाले महामारी हटेको जनविश्वास छ । सोहि समयदेखी नारायण डाँडामा नारायणको मुर्ति स्थापना गरी पुजाआजा गरिँदै आइएको छ ।

नारायण डाँडामा मगर समुदायको मुख्य चाडपर्व मध्येको माघे सक्रान्तिको अघिल्लो दिन पुजापाठ गरिन्छ भने सोहि रातमा जात्रा समेत लाग्ने गर्दछ । मेलामा लालितपुर काठमाण्डौं, काभ्रे, मकवानपुर लगायतका विभिन्न क्षेत्रबाट मानिसहरु त्याहाँ पुग्ने गर्दछन् ।

वि.स. २०४३÷४४ मा बहुमुल्य नारायणको मुर्ति चोरी भयो । खोज्दै जाँदा ३/४ महिनापछि उक्त मुर्ति फेला परेको थियो । तर २०५५ सालतिर उक्त मुर्ति फेरी चोरी भएको स्थानीयले बताएका छन् । उक्त मुर्ति अहिलेसम्म भेटिएको छैन । नारायणको मुर्ति र घण्टाहरु चोरी भएपछि उजाड डाँडाका रुपमा रहेको नारायण डाँडामा गिम्दी प्रवासी युवा समाजको पहलमा आकर्षक नारायणको मुर्ति सहितको मन्दिर निर्माण गरिएको छ । मन्दिर निर्माणसँगै स्थानीयको आस्था र विश्वास ठडिएको स्थानीय युवा अमिर थापा मगरले बताउनुभयो ।

भव्य कार्याक्रमकाबीच मन्दिर उद्घाटन

मन्दिरको उद्घाटन एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष बिरबहादुर लोप्चनले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले विदेसिएका युवाले खेलेको भुमिकाको प्रसंसा गर्दै नारायण डाँडालाई थप व्यवस्थित बनाउने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले प्रवासी युवाहरुले यसअघि उपलब्ध गराएको एम्बुलेन्सले गाउँपालिकामा पुर्याएको योगदानको पनि स्मरण गर्नुभयो । यस्तै आफ्नो ठाउँको विकास हाम्रो पनि जिम्मेवारी हो भन्ने ठानेर प्रवासी युवा समाजले उदाहरणीय काम गरेको भन्दै गाउँपालिका उपाध्यक्ष रञ्जना घिमिरेले खुसी व्यक्त गर्नुभयो । विदेशी भुमिमा पसिना बगाएर आफ्नो भुमिका लागि गरेको माया कहिल्यै नविर्सने उहाँको भनाई थियो । मन्दिर निर्माण तथा मन्दिरको धार्मिक, ऐतिहासिक महत्व खोजी गर्नका लागि स्थानीय राजु केछाकी मगर, पशुपति ग्यामी मगर, सागर थापा लगायतले महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । मन्दिर उद्घाटनकै अवसर पारेर सहयोगी प्रवासीका परिवारलाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ । आफ्नो ठाउँको लागि थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको गिम्दी प्रवासी युवा समाजका सदस्य शुक्रराज सिंतानको भनाई छ । आगामी दिनमा पनि सहयोग निरन्तर रहने अर्का सदस्य विष्णु सुजन दाहाले बताउनुयो ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..