गायक राजु लामाको सांगीतिक प्रस्तुतिले गुञ्जियो जाग्रेब

जाग्रेब – लोकप्रिय गायक राजु लामाको विशेष सांगीतिक प्रस्तुतिसहित क्रोएसियाको राजधानी जाग्रेबस्थित क्लब बुगालोमा आयोजित नेपाली सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कोसेली प्रोडक्सनको आयोजनामा सम्पन्न कार्यक्रममा ७ सयभन्दा बढी दर्शक तथा श्रोताहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा गायक राजु लामाले ‘पर्खाइमा’, ‘तिमीलाई देखेर’, ‘बादलपारिको देशबाट’, ‘सायद तिम्रो बाटोमा’, ‘हल्ला चलेछ’, ‘गाउँकी कान्छी’, ‘म माया लगाउँदिन’, ‘मेरो नेपाल’ र ‘ओइ नाना’ लगायतका लोकप्रिय गीत प्रस्तुत गरेका थिए। उनका चर्चित गीतमा दर्शकले उत्साहपूर्वक साथ दिँदा कार्यक्रमस्थल नेपाली संगीतको रौनकले गुञ्जायमान बनेको थियो।

बिज्ञापन
Raju Lama singing in Croatia

आफ्नो प्रस्तुति दिँदै लोकप्रिय गायक राजु लामा

राजु लामाको प्रस्तुतिसँगै क्रोएसियामा रहेका नेपाली कलाकारहरूको गायन तथा नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। बिग्जेद लामाले गायन प्रस्तुत गरेका थिए भने शर्मिला गुरुङ, अमृत मुक्तान, विकास मेचे र दीपक तामाङले गीत गाएका थिए। त्यसैगरी, निरु परियार, नितेश राज शाक्य, राजेश मगराती र तुलसी चौलागाईंले नृत्य प्रस्तुत गरेका थिए। सिरिशा छोदेन, सालोमी तामाङ, भुवन मगर र विकास श्रेष्ठको समूह नृत्य तथा सुजु घलेको नृत्यले दर्शकको मनोरञ्जनलाई थप उचाइ दिएको थियो। कार्यक्रममा अस्तित्व ब्याण्डले समेत सांगीतिक प्रस्तुति दिएको थियो। कार्यक्रमको सञ्चालन रोजी लामाले गरेकी थिइन्।

दर्शक स्रोतासँग सामुहिक तस्बिरमा गायक राजु लामा

कार्यक्रमलाई सहज समापनमा गोपाल तामाङ, साना उजाबा, पार्वती तामाङ, कपिल भट्ट, सासा होजाक, कुमार तामाङ, काठमाडौं मार्ट, हिमालयन एक्जोटिक सुपर मार्केटले आर्थिक एवं प्राविधिक सहायता प्रदान गरेका थिए । कार्यक्रममा दिपक महराले फोटोग्राफरको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नरही प्रवासमा नेपाली कला, भाषा, संगीत र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा समेत स्थापित भएको थियो। नेपाली गीत–संगीत र कलाकारका प्रस्तुतिमार्फत सहभागीहरूले आफ्नो मौलिक संस्कृति र देशसँग भावनात्मक रूपमा जोडिने अवसर पाएका थिए। साथै, विदेशमा रहेका नेपालीबीच भेटघाट, आत्मीयता र भाइचारालाई प्रगाढ बनाउन कार्यक्रमले योगदान पुर्‍याएको थियो।

युवा व्यवसायी एवं समाजसेवी दावा लामा र कोसेली प्रोडक्सनको सहकार्यमा सम्पन्न कार्यक्रमले विदेशमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने, नेपाली सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने र नयाँ पुस्तामाझ नेपाली कला तथा संगीतको महत्त्व स्थापित गर्ने विश्वास लिइएको छ।

कोसेली प्रोडक्सनले यसअघि पनि क्रोएसियामा विभिन्न नेपाली कलाकारका सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको छ। आगामी दिनमा पनि नेपाली कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै प्रवासमा सांस्कृतिक आदानप्रदान र नेपालीपनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

जाग्रेबमा सम्पन्न यस कार्यक्रमले नेपाली संगीतप्रति प्रवासी समुदायको आकर्षण र सांस्कृतिक एकताको महत्त्वलाई उजागर गरेको छ। यस्ता कार्यक्रमले युरोपमा नेपाली कला तथा संस्कृतिको पहिचान विस्तार गर्न र नेपाली समुदायलाई आफ्नो मौलिकतासँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।