

बनेपा, काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित इक्वएल एक्सेस मन्टेश्वरी तालिम केन्द्रमा प्रदेश सरकारको सहयोगमा सञ्चालित तीनमहिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ। तालिममा सहभागी झण्डै ५० जना महिलालाई एक समारोहबीच दीक्षित गरिएको छ।

तालिम सम्पन्न भएको अवसरमा आयोजित दीक्षान्त समारोहमा नेकपाका युवा नेता तथा शिक्षाप्रेमी भेषराज शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा मन्टेश्वरी शिक्षाको महत्व, बालबालिकाको सर्वाङ्गीण विकास तथा गुणस्तरीय शिक्षामा सबैको समान पहुँच हुनुपर्ने विषयमा जोड दिइएको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले मन्टेश्वरी शिक्षा भनेको बालबालिकालाई अक्षर चिनाउने र पुस्तक पढाउने माध्यम मात्र नभई उनीहरूमा संस्कार, अनुशासन, माया, करुणा र सामाजिक व्यवहार विकास गर्ने मुख्य आधार भएको बताउनुभयो। बालबालिकालाई खेलाउँदै, रमाउँदै र व्यावहारिक क्रियाकलापमा सहभागी गराउँदै सिकाउने पद्धति नै प्रभावकारी मन्टेश्वरी शिक्षाको विशेषता भएको उहाँको भनाइ थियो।
उहाँले बालबालिकालाई कसरी सुरक्षित राख्ने, उचित खानपानको व्यवस्था गर्ने, उनीहरूको भावना बुझ्ने तथा अतिरिक्त क्रियाकलापमार्फत सिर्जनशीलता र आत्मविश्वास विकास गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
मन्टेश्वरी शिक्षकमा बालबालिकाप्रति धैर्य, जिम्मेवारी र सेवाभाव हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले तीनमहिने तालिमलाई मात्र पर्याप्त ठान्न नहुने धारणा राख्नुभयो।“शिक्षा भनेको केवल अक्षर चिनाउनु होइन, बालबालिकाको भविष्य निर्माण गर्नु हो।
बालबालिकालाई माया, करुणा र संस्कारसहित सिकाउन सकियो भने उनीहरू असल नागरिकका रूपमा हुर्कन सक्छन्,” प्रमुख अतिथि शाहले भन्नुभयो।
नेपालमा मन्टेश्वरी शिक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय अभ्यास तथा विकसित देशका शिक्षण पद्धतिबाट समेत सिक्नुपर्ने उहाँको जोड थियो। शिक्षकहरूले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्दै समयअनुसार आफ्नो ज्ञान र क्षमता अभिवृद्धि गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो।
त्यसैगरी, उहाँले प्रत्येक सरकारी विद्यालयमा समेत मन्टेश्वरी प्रकृतिको बालमैत्री सिकाइ सुविधा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
निजी विद्यालयमा मन्टेश्वरी शिक्षाका लागि अभिभावकले महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले आर्थिक अवस्थाका कारण कुनै पनि बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नहुने बताउनुभयो।
“गुणस्तरीय शिक्षा सबै बालबालिकाको अधिकार हो। आर्थिक अवस्था कमजोर भएकै कारण कुनै बालबालिकाले राम्रो प्रारम्भिक शिक्षा प्राप्त गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ,” शाहले भन्नुभयो।
प्रारम्भिक बालशिक्षाले बालबालिकाको बौद्धिक, सामाजिक, भावनात्मक तथा व्यावहारिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न यस्ता तालिम उपयोगी हुने अपेक्षा गरिएको छ।
इक्वएल एक्सेस मन्टेश्वरी तालिम केन्द्रमा सञ्चालित यस तालिमबाट दीक्षित महिलाहरूले प्राप्त ज्ञान र सीपलाई बालबालिकाको सिकाइ तथा सर्वाङ्गीण विकासमा उपयोग गर्ने विश्वास लिइएको छ। यस्ता कार्यक्रमले महिला सशक्तिकरण र सीप विकासका साथै प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधारमा समेत उल्लेखनीय योगदान पुर्याउने देखिन्छ।
तालिम अवधिभर प्रशिक्षकद्वय कल्पना गोमा पौडेल र उर्मिला लामिछानेले मन्टेश्वरी शिक्षण पद्धतिका व्यावहारिक तथा सैद्धान्तिक पक्षहरूमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

