लक्ष्मी महिला साकोसको २८औँ वार्षिक साधारण सभा सम्पन्न

बनेपा – पनौती नगरपालिका–५ चौकोटस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बनेपास्थित स्मार्ट पार्टी प्यालेसमा शनिबार आयोजित सभा संस्थाका संस्थापक अध्यक्ष तिर्थ माया प्रधानको प्रमुख आतिथ्यता तथा संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष कविता कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सकुन्तला श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कल्याणी चन्द्र ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

बिज्ञापन

कार्यक्रममा सहभागिता जनाउनुहुँदै महिला सदस्यहरू

संस्थाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ हजार ४४८ जना शेयर सदस्य रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा २६० जना सदस्य थप भई असार मसान्तसम्म सदस्य संख्या ३ हजार ७०८ पुगेको छ। संस्थाको शेयर पूँजीसमेत वृद्धि हुँदै आर्थिक वर्ष २०८३/८४ मा ४ करोड १ लाख ९९ हजार रुपैयाँ पुगेको संस्थाले जनाएको छ।

सहकारीले सदस्यलाई सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मोबाइल बैंकिङमार्फत शेयर, बचत तथा ऋणको विवरण हेर्न सकिने, मोबाइल तथा टेलिफोन रिचार्ज, विद्युत् तथा खानेपानीको महसुल भुक्तानी, खल्ती तथा ई–सेवामा रकम लोडलगायतका डिजिटल सेवा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ।

नि:शुल्क स्वास्थ्य परिक्षण गराउन लामबद्ध सदस्यहरू

संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठले संस्थाको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी शेयर सदस्यको आयआर्जनमा प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। देशको आर्थिक क्षेत्रमा अपेक्षित सुधार हुन नसक्दा लगानीको वातावरणमा आएको सुस्तताको असर सहकारी क्षेत्रमा समेत परेको उहाँको भनाइ थियो।

अध्यक्ष श्रेष्ठले वर्तमान अवस्थामा सहकारी क्षेत्र संवेदनशील अवस्थामा रहेकाले सदस्यकेन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै सहकारी नीति, विधि र नियमनको पूर्ण पालना गरेर अघि बढ्ने बताउनुभयो। सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहकारी क्षेत्रप्रतिको सकारात्मक विश्वास कायम गर्न संस्थाले निरन्तर काम गर्ने उहाँले उल्लेख गर्नुभयो।

लक्ष्मी महिला साकोसले बागमती प्रदेश सहकारी संघबाट उत्कृष्ट महिला सहकारी तथा प्रदेश सहकारी संघबाट उत्कृष्ट सहकारीका रूपमा पुरस्कार प्राप्त गरिसकेको जनाएको छ। संस्थाले समयसापेक्ष योजना, कर्मचारीको प्रभावकारी कार्यान्वयन र शेयर सदस्यको साथमा सहकारीलाई थप सुदृढ बनाउँदै लैजाने जनाएको छ।

अनुहारको छाला परिक्षण गराउनुहुँदै संस्थाका सदस्यहरू

यसअघि असोज १० गते शनिबार साधारण सभा गर्ने तय भए पनि अविरल वर्षाका कारण सडक सञ्जाल तथा जनजीवनमा परेको प्रभाव र सरकारी निर्देशनलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको थियो। सोही कार्यक्रमलाई पुनः आयोजना गर्दै असोज १९ गते २८औँ वार्षिक साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायामाझीले जानकारी दिनुभयो।