
धुलिखेल, काभ्रे । धुलिखेल नगरपालिका–१, देवीटारस्थित श्री देवीस्थान माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि राहत कोषमा आफ्नो तर्फबाट रकम संकलन गरी सहयोग गरेका छन्।

बाढीपीडित परिवारको दुःखमा साथ दिने उद्देश्यले विद्यार्थी भाइबहिनीहरूले आफ्नो क्षमता अनुसार रकम संकलन गरी राहत कोषमा जम्मा गरेका हुन्। विद्यार्थीहरूमा रहेको मानवीय भावना, सहयोगी संस्कार तथा सामाजिक उत्तरदायित्वको यो प्रयास प्रशंसनीय रहेको विद्यालयले जनाएको छ।




विद्यालयका प्रधानाध्यापक पेसल कुमार यादवले बाढीपीडित परिवारको सहयोगका लागि विद्यार्थीहरूले गरेको योगदानप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको मानवीय भावना र सामाजिक सेवाप्रतिको सक्रियताको प्रशंसा गर्नुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीहरूमा सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वको भावना थप विकास हुने बताउनुभयो।
२०३४ सालदेखि शैक्षिक क्षेत्रमा योगदान

धुलिखेल नगरपालिका–१, देवीटारमा रहेको श्री देवीस्थान माध्यमिक विद्यालय काभ्रेको एक पुरानो सामुदायिक विद्यालय हो। विद्यालयको स्थापना २०३४ साल पौष १४ गते भएको हो। हाल विद्यालयमा बाल विकास केन्द्रदेखि कक्षा १० सम्म पठनपाठन सञ्चालन हुँदै आएको छ।
विद्यालयमा हाल २२९ जना विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, माध्यमिक तहका ३ जना, निम्न माध्यमिक तहका २ जना र प्राथमिक तहका ८ जना गरी जम्मा १३ जना शिक्षक तथा १ जना कार्यालय सहयोगी कार्यरत छन्।
विद्यालयका प्रधानाध्यापक पेसल कुमार यादव माध्यमिक द्वितीय श्रेणीका अङ्ग्रेजी विषयका शिक्षक हुनुहुन्छ।
SEE मा शतप्रतिशत विद्यार्थी ग्रेडेड

विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गर्दै आएको छ। यसको परिणामस्वरूप SEE २०८१ र SEE २०८२ मा विद्यालयबाट सहभागी सबै विद्यार्थी १०० प्रतिशत ग्रेडेड हुन सफल भएका छन्।
विद्यालयले यस उपलब्धिलाई शिक्षकहरूको मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावक र स्थानीय समुदायको सहयोगको परिणामका रूपमा लिएको छ।

शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत विद्यार्थीहरूको सहभागिता बढाउँदै आएको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
बाढीपीडित परिवारको सहयोगका लागि विद्यार्थीहरूले गरेको यो सानो प्रयासले ‘सहयोगका लागि ठूलो हैसियत होइन, ठूलो मन चाहिन्छ’ भन्ने सन्देशसमेत दिएको छ

