

बाढीपीडितलाई सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाएर रकम उठाउन खोज्ने पक्राउ

रामेछाप । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमार्फत रकम संकलन गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन्।


पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२, ठेसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।
प्रहरीका अनुसार कार्कीले नेपाल सरकारद्वारा सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउने गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा उनले उक्त नक्कली स्टेटमेन्ट बनाउन च्याटजीपीटीको प्रयोग गरेको र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गरी सोही पोस्टमा आफ्नो क्यूआर कोडसमेत राखेको खुलेको प्रहरीले जनाएको छ।
नक्कली स्टेटमेन्टमार्फत सर्वसाधारणलाई भ्रममा पारी रकम संकलन गर्न खोजेको आरोपमा प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कार्कीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

