
काभ्रे । ज्योति एकेडेमी स्कुलले नयाँ शैक्षिक सत्रसँगै अध्ययन प्रारम्भ गरेका ८० जना नयाँ विद्यार्थीलाई औपचारिक रूपमा स्वागत गरेको छ। विद्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।


विद्यालयले नयाँ विद्यार्थीहरूको आगमनसँगै विद्यालयमा थप ऊर्जा, उत्साह र सकारात्मक वातावरण सिर्जना भएको जनाएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई विद्यालयलाई आफ्नो दोस्रो घरको रूपमा अनुभूति गर्दै अनुशासन, संस्कार, नैतिकता र गुणस्तरीय शिक्षासहित उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढ्न प्रेरित गरिएको थियो।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष त्रिरत्न मानन्धर र प्रधानाध्यापक महेन्द्र विष्टले संयुक्त रूपमा नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व र जीवन उपयोगी सीपसँग जोडिएको विषय भएको बताए।


उनीहरूले “ज्योति एकेडेमीले विद्यार्थीको क्षमता, रुचि र प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ शिक्षण गतिविधि सञ्चालन गरिरहेको” उल्लेख गरे। साथै, विद्यालयले विद्यार्थीमैत्री वातावरण, अनुशासित शैक्षिक प्रणाली र व्यवहारिक शिक्षामार्फत हरेक विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा निरन्तर प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
विद्यालय परिवारले नयाँ विद्यार्थीहरूको सुखद, सफल र उपलब्धिमूलक शैक्षिक यात्राको शुभकामना समेत व्यक्त गरेको छ।

