आजाद माध्यमिक विद्यालय बनेपाको ७६औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

 

काभ्रे । बनेपा नगरपालिका–५ मा रहेको आजाद माध्यमिक विद्यालय, बनेपाको ७६औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका पुर्व जलश्रोत सचिब भुवनेश कुमार प्रधान रहेका थिए।

बिज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा, समाजसेवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले विद्यालयले लामो समयदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताए। उनले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई अनुशासन, मेहनत र लक्ष्यप्रति प्रतिबद्ध हुन आग्रह गरे।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष अधिकारीले आजाद माध्यमिक विद्यालय बनेपाको शैक्षिक विकासका लागि वडा कार्यालय सधैँ सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयले समुदायसँगको सहकार्यमा शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै विद्यालयका प्रधानाध्यापक श्याम मानन्धरले विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि र आगामी योजनाबारे जानकारी गराउँदै विद्यालयलाई आजको अवस्थामा पुर्‍याउन अभिभावक, शिक्षक, व्यवस्थापन समिति तथा स्थानीय समुदायको योगदान महत्वपूर्ण रहेको बताए। उनले विद्यार्थीको समग्र विकासका लागि विद्यालयले विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको पनि उल्लेख गरे।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै विभिन्न व्यक्ति तथा संस्थाहरूले स्थापना गरेका छात्रवृत्ति कोषबाट छात्रवृत्ति वितरण गरिएको थियो। बनेपाका विभिन्न क्षेत्रका व्यक्तिहरूले विद्यार्थी प्रोत्साहनका लागि पुरस्कार तथा छात्रवृत्ति कोष स्थापना गरेका छन्।

कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।