काभ्रेपलान्चोक – नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत आठौं जिल्ला अधिवेशनको लागि सभापति पदका उम्मेदवार तिर्थ लामाले शसक्त टिम घोषणा गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले नेतृत्व गरेको उक्त समूहले सबै भेग समेटेर बौद्धिक, पार्टीमा योगदान गरेका इमान्दार कार्यकर्तालाई उम्मेदवार बनाएको हो ।

२०७० सालको निर्वाचनमा कम्युनिष्टको गढ मानिने क्षेत्रमा कांग्रेसलाई विजय गराएका लामा संविधानसभा सदस्य हुन् । प्रतिनिधीसभा क्षेत्र नं १ का निवर्तमान सभापति उनी कांग्रेसका सबै पुस्तासंग उत्तिकै घुलमिल र परिचित छन् । कम्युनिष्टलाई टक्कर दिन सक्ने नेता लामाको उम्मेदवारीले काभ्रे कांग्रेसमा उत्साह छाएको छ ।

दुई उपसभापतिमा सो समूहबाट ठाकूरप्रसाद न्यौपाने र रमेश हुमागाई उम्मेदवार बनेका छन् । २०४९ सालमा साबिक जैशीथोक गाविस अध्यक्ष निर्वाचित न्यौपाने पार्टीको जिल्ला सदस्य हुंदै ३० बर्षदेखि महासमिति सदस्य भएर काम गरिसकेका छन् । वरिष्ठ अधिवक्ता रहेका न्यौपानेलाई शसक्त उम्मेदवार मानिएको छ ।

उपसभापति पदमा प्रतिनिधीसभा क्षेत्र नं १ का निवर्तमान सहसभापति, प्रदेश सभा १ (ख) का सभापति रमेशप्रसाद हुमागाई छन् । साविक काभ्रे नित्यचण्डेश्वरी गाउँ कार्यसमितिको सचिवबाट राजनीति शुरु गरेका अधिवक्ता हुमागाई नेपाल बार एशोशिएसन काभ्रेका पूर्व अध्यक्ष समेत हुन् । १० बर्ष क्षेत्रीय सभापति रहेका उनले काभ्रेका गाउँ गाउँमा आफ्नो परिचय बनाएका छन् ।

दुई सचिव पदमा माधव ढकाल र गुणराज मोक्तान उम्मेदवार छन् । विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीति शुरु गरेका गुणराज मोक्तान प्रतिनिधी सभा क्षेत्र नं १ का निवर्तमान सचिव हुन् । पार्टीको तल्लो तहमा बसेर काम गरेका बौद्धिक व्यक्तित्व लामा सामाजिक काममार्फत जिल्लाभर नै परिचित छन् ।

विद्यार्थी राजनीतिमा देशभर आफ्नो परिचय र पहिचान छोड्न सफल नेपाल विद्यार्थी संघका निवर्तमान सहमहामन्त्री एवं काभ्रेका पूर्व अध्यक्ष माधव ढकाल जिल्लाका प्रत्येक गाउँबस्ती पुगेका छन् । सबै पुस्तामाझ उत्तिकै लोकप्रिय ढकालले पार्टीमा आफुले गरेको योगदानका कारण आम मतदाताले आफू र टिमलाई जिताउने विश्वास व्यक्त गरे ।

दुई सह-सचिव पदमा पार्टी जिल्ला सदस्यहरु समिर व्याञ्जु र रविन्द्रनाथ सिग्देलको उम्मेदवारी परेको छ । पूर्वमन्त्री राजेन्द्रप्रसाद खरेलका प्रमुख सहयोगीको रुपमा काम गरेका व्याञ्जु विद्यार्थी हुँदै पार्टीको राजनीतिमा पूणर्रुपमा कृयाशिल छन् । पञ्चायतकालदेखि नै कांग्रेसको राजनीति गरेका स्व. प्राणनाथ सिग्देलका सुपुत्र रहेका जिल्ला सदस्य रविन्द्रनाथ सिग्देलले सह-सचिव पदमा उम्मेदवारी दिएका छन् । विद्यार्थी हुँदै पार्टी राजनीतिमा कृयाशिल सिग्देलले पार्टीको प्रचार विभाग प्रमुखको रुपमा काम गरिसकेका छन् ।

लामा नेतृत्वको समूहले जिल्लाका १३ वटै स्थानीय तहमा शसक्त र पार्टी राजनीतिमा योगदान गरेका व्यक्तिलाई उम्मेदवार बनाएको जनाएको छ । दुवै निर्वाचन क्षेत्र समेटेर सन्तुलित उम्मेदवारी दिएका कारण आफ्नो जित सुनिश्चित भएको उनीहरुले जनाएका छन् । पार्टीको विधान र निर्वाचन निर्देशिका अनुसार समावेशी रुपमा उम्मेदवारी दिएको सभापति पदका उम्मेदवार तिर्थ लामाले जानकारी दिए ।

धुलिखेलमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले हारको मानसिकताले फैलाइएको भ्रमको पछाडी नलाग्न मतदाता र कांग्रेसजनमा अनुरोध गरेका छन् । ‘शिव हुमागाईले सभापति पदका अर्का उम्मेदवारलाई सहयोग गर्दैछ भनेर सामाजिक सञ्जालमार्फत, विभिन्न मिडियामार्फत भ्रम फैलाइएको रहेछ, त्यस्ता भ्रमको पछि नलाग्न म आम मतदाता साथीहरु र कांग्रेसजनमा अनुरोध गर्दछु,’ उनले भने, ‘मैले नेतृत्व गरेको तिर्थ लामा नेतृत्वको समूहलाई अत्याधिक बहुमतले विजय गराउन हार्दिक अनुरोध गर्दछु ।’

सभापति पदका उम्मेदवार लामाले आफ्नो नेतृत्वको टिमले काभ्रे कांग्रेस हाक्ने भन्दै काभ्रेका सबै निर्वाचन क्षेत्र, स्थानीय तह र १ सय ३५ वटै वडामा विजयी गराउनको लागि आफ्नो समूहलाई विजयी गराउन अनुरोध गरे ।

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..