सडक सुरक्षा सन्देश शिक्षकमार्फत समुदायसम्म

बनेपा – जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको आयोजनामा बनेपा नगरपालिका वडा नं. ७ स्थित बेलर इन्टरनेशनल एकेडेमीमा “ट्राफिक शिक्षक (Traffic Teacher) कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रम अन्तर्गत विद्यालयमा कार्यरत ४० जना भन्दा बढी शिक्षक/शिक्षिकाहरुलाई सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा, ट्राफिक नियम, तथा सडक अनुशासनसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको हो। प्रशिक्षणको उद्देश्य शिक्षकहरूलाई ट्राफिक सुरक्षासम्बन्धी ज्ञानले सशक्त बनाउँदै, सो ज्ञान विद्यार्थी हुँदै समुदायसम्म फैलाउने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन

कार्यक्रममा सहभागी शिक्षकहरूलाई सुरक्षित सडक प्रयोग, पैदल यात्रीको अधिकार, सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा बालबालिकालाई ट्राफिक शिक्षा कसरी प्रभावकारी रूपमा दिन सकिन्छ भन्ने विषयमा व्यवहारिक जानकारी गराइएको थियो।

“सडक दुर्घटना न्यूनीकरण केवल ट्राफिक प्रहरीको जिम्मेवारी मात्र होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो। शिक्षकहरू समाजका मार्गदर्शक भएकाले उहाँहरूबाट प्राप्त ट्राफिक शिक्षाले विद्यार्थीमार्फत परिवार र समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएका छौँ।” जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल धाँजुले भन्नुभयो ।

उहाँले ट्राफिक सुरक्षाको संस्कृति विद्यालय तहबाटै विकास गर्न सके दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पुग्ने उल्लेख गर्नुभयो।

कार्यक्रमले शिक्षकहरूमा ट्राफिक सचेतनाको स्तर बढाएको र आगामी दिनमा विद्यालयस्तरमै ट्राफिक शिक्षा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।