

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको सातौँ पूर्ण बैठक सम्पन्न भएको छ।

जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको अध्यक्षतामा सम्पन्न बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. २ बाट गोकुल बाँस्कोटाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।


बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य अमित लामा, पूर्व केन्द्रीय सदस्य रेशम लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो। यस्तै बागमती प्रदेश कमिटीकी उप–सचिव भक्त कुमारी लामा, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश कमिटी सदस्यहरू पनि बैठकमा सहभागी थिए।
बैठकको स्वागत मन्तव्य जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामाले राखेका थिए भने बैठकको सञ्चालन जिल्ला सचिव राजकुमार सापकोटाले गरेका थिए। जिल्ला कमिटी उप–सचिव रत्नकुश रञ्जितकारको समेत सहभागिता रहेको थियो।
प्रतिनिधिसभा क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटीका संयोजक इन्द्रमान तामाङले क्षेत्रीय बैठकबाट भएका निर्णयहरू जिल्ला कमिटी बैठकमा पेश गर्दै काभ्रे–१ बाट १० जनाको नाम सिफारिस गरिएको जानकारी गराए। छलफलपछि जिल्ला कमिटी बैठकले काभ्रे–१ बाट १० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय पास गरेको छ।
काभ्रे–१ बाट सिफारिस हुने उम्मेदवारहरूमा एमाले केन्द्रीय सदस्य अमित लामा सहित ९ जना पुरुष र महिलातर्फ नवीना लामा रहेका छन्। यस्तै चन्द्र लामा, रेशम लामा, राकेश लामा, टुल्कु लामा, रामहरि सुवेदी, कुलचन्द्र अधिकारी, कान्छामान तामाङ (रक्तिम) र दीपक चौलागाईं लगायतका नेताहरूको नाम सिफारिस गरिएको छ।
त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. २ निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले गोकुल बाँस्कोटालाई एकल उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। क्षेत्रीय कमिटीका संयोजक कृष्णप्रसाद दाहालले उक्त निर्णय अनुसार एकल नाम जिल्ला कमिटीमा पेश गरेका थिए।
जिल्ला कमिटी बैठकले क्षेत्रीय कमिटीहरूबाट आएका सिफारिसहरूलाई अनुमोदन गर्दै आगामी निर्वाचनमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


