अंकुर प्रि–स्कुलमा स्वास्थ्य शिविर सम्पन्न

बनेपा – धुलिखेल अस्पतालको सहयोगमा अंकुर प्रि–स्कुलमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा विद्यालयमा अध्ययनरत ५६ जना छात्र–छात्राले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरमा बालरोग, कान–नाक–घाँटी (ENT), आँखा तथा दन्त परीक्षणसम्बन्धी सेवा प्रदान गरिएको थियो। बालबालिकाको समग्र स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्दै आवश्यक परामर्श तथा उपचारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

बिज्ञापन

स्वास्थ्य शिविरमा धुलिखेल अस्पतालका प्रतिष्ठित चिकित्सकहरू डा. सन्तोष गौतम, डा. आशिष ढकाल, मुन ताजाले, डा. दीक्षिता बज्राचार्य, चार्ली फ्लिन्ट, डा. सुविरा श्रेष्ठ, डा. रिग्वे कुमार, बिनु बस्नेत र रितु मानन्धरको उल्लेखनीय सहभागिता रहेको थियो। चिकित्सकहरूले बालबालिकाको स्वास्थ्य परीक्षण गर्दै अभिभावक तथा शिक्षकहरूलाई आवश्यक स्वास्थ्य सल्लाहसमेत प्रदान गरेका थिए।

विद्यालय प्रशासनका अनुसार यस प्रकारका स्वास्थ्य शिविरले बालबालिकाको स्वास्थ्य अवस्था समयमै पहिचान गर्न र भविष्यमा आवश्यक सावधानी अपनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

अंकुर प्रि–स्कुलका प्रमुख तथा शिक्षकहरूले धुलिखेल अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम अत्यन्तै उपयोगी र प्रशंसनीय रहेको बताएका छन्।

अंकुर प्रि–स्कुलले आगामी दिनमा पनि यस्ता स्वास्थ्य सचेतना तथा परीक्षण कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको शारीरिक, मानसिक र शैक्षिक विकासमा ध्यान दिने प्रतिबद्धता जनाएको छ।