
नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार एकीकृत सुरक्षा योजनाले मार्गदर्शन गरेअनुसार निर्वाचनको करिब एक महिना अघिदेखि नै सेनाको फौज फिल्डमा परिचालन गरिनेछ। सेनाको परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ।

निर्वाचन अवधिभर सेनाले तीन चरणमा सुरक्षा जिम्मेवारी बहन गर्नेछ। निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसँगको समन्वयमा गर्नेछ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेनाले चार वटै सुरक्षा निकाय, जिल्ला प्रशासन तथा स्थानीय तहसँग सहकार्य गर्दै तल्लो तहसम्म एकीकृत सुरक्षा तालिम र अभ्यास सञ्चालन गर्ने जनाएको छ।


मतदानका दिन निर्वाचन स्थल तथा केन्द्रमा नेपाली सेना तेस्रो घेरामा खटिनेछ। यस क्रममा राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा संलग्न कर्मचारीको सुरक्षालाई पूर्ण प्रत्याभूति दिने सेनाको भनाइ छ।
मतदान सम्पन्न भएपछि मतपेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी पनि नेपाली सेनाले बहन गर्नेछ। यसका लागि विगतका निर्वाचनमा जस्तै देशका विभिन्न स्थानमा सुरक्षा वेश स्थापना गरिने तयारी गरिएको छ।
निर्वाचनलाई तोकिएको मितिमा भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रदेशस्तरमा समेत सुरक्षा गोष्ठी सञ्चालन भइरहेका छन्। ती गोष्ठीबाट प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गर्दै सरकारले आवश्यक परे थप सुरक्षा प्रबन्ध मिलाउने सेनाले जनाएको छ।
साथै सबै सुरक्षा निकाय, स्थानीय प्रशासन र जनप्रतिनिधिसँगको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षालाई राज्यको प्राथमिक कार्यभारका रूपमा सफलतापूर्वक सम्पन्न गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको नेपाली सेनाले स्पष्ट पारेको छ।


