३८ वर्षसम्म शिक्षा सेवा गरेका गोरखाका शिक्षकलाई हेलिकप्टरमार्फत सम्मानजनक विदाइ

 

गोरखा— उत्तरी गोरखा, धार्चे–२ रुञ्चेतका बासिन्दाले ३८ वर्षसम्म गाउँमै अध्यापन गर्दै आएका शिक्षक इन्द्र उपरकोटीलाई अनौठो र प्रेरणादायी शैलीमा सम्मान गरेका छन्। दीर्घकालीन सेवा र समर्पणको कदरस्वरूप गाउँलेहरूले उनलाई हेलिकप्टरमार्फत विदाइ गरेका हुन्।

बिज्ञापन

०४५ साल फागुन १९ गतेदेखि गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा आफ्नो शिक्षक जीवन सुरु गरेका उपरकोटीलाई मंगलवार विशेष समारोहका बीच फूलमाला र शुभकामनासहित बिदाइ गरिएको विद्यालयले जनाएको छ।

उपरकोटीले प्राथमिक तहदेखि सुरु भएर विद्यालयलाई क्रमशः निम्न माध्यमिक र माध्यमिक तहमा स्तरोन्नति गर्न महत्वपूर्ण योगदान पुर्‍याएका थिए। गाउँकै शैक्षिक विकासमा चार दशक नजिकको समय समर्पण गरेका उनले प्राप्त सम्मानबारे भावुक हुँदै कृतज्ञता प्रकट गरे।

“कर्तव्य मात्र पूरा गरेको मान्छेले यस्तो माया र कदर पाउँछु भन्ने कल्पना पनि गरेको थिइनँ,” उपरकोटीले भने, “गाउँलेहरू मेरो कामबाट यति खुशी र सन्तुष्ट रहेछन् भन्ने थाहा पाएर मन अत्यन्त खुसी भएको छ।”

स्थानिय बासिन्दाले भने उपरकोटीको सेवा, लगनशीलता र विद्यालय उकास्नुभएको भूमिकाले रुञ्चेतलाई शिक्षा क्षेत्रमा परिचित बनाएको भन्दै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन्।