महेश बस्नेत प्रदेश इन्चार्ज, बागमतीका १० जिल्लामा एमाले इन्चार्ज तोकिए

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत बागमती प्रदेश इन्चार्ज नियुक्त भएसँगै प्रदेशअन्तर्गतका १० जिल्लामा जिल्ला इन्चार्ज तोकिएका छन् ।

नयाँ जिम्मेवारीअनुसार सिन्धुलीमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुङ्गेल, काभ्रेपलाञ्चोकमा अशोक ब्यन्जु, सिन्धुपाल्चोकमा सुवास कर्माचार्य, धादिङमा भूमि त्रिपाठी र दोलखामा पार्बत गुरुङलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

यसैगरी नुवाकोटमा केशव पाण्डे, रसुवामा प्रेम तामाङ, मकवानपुरमा रामेश्वर राना तथा चितवनमा देवी ज्ञवालीलाई जिल्ला इन्चार्ज तोकिएको छ । यसअघि काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्जको जिम्मेवारी गोकुल बास्कोटाले सम्हाल्दै आएका थिए ।

एमालेले बागमती प्रदेशमा संगठन सुदृढीकरण र पार्टी गतिविधि प्रभावकारी बनाउने उद्देश्यका साथ इन्चार्जहरू तोकेको जनाएको छ ।