नेपालको स्वास्थ्य सेवामा योगदान: डा. सुवास घिमिरेलाई वर्ल्ड रेकर्ड सम्मान

काभ्रेपलान्चोक – काठमाडौं राजन थापा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनु भएका डा. सुवास घिमिरे Zenith Book of World Records बाट सम्मानित हुनुभएको छ। लायन्स क्लब अफ काठमाण्डौ इन्द्र अन्नपूर्ण योगाका संस्थापक अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट–३२५ एफका कोषाध्यक्षसमेत रहनु भएका घिमिरेलाई स्वास्थ्य सेवा, जनचेतना र समाजसेवामा पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।स्वास्थ्य र समाजसेवामा अग्रणी डा. सुवास घिमिरे, वर्ल्ड रेकर्डबाट सम्मानित सम्मान प्रदान गर्ने संस्थाका अनुसार डा. घिमिरेले ग्रामीण तथा शहरी क्षेत्रका सेवाबाट वञ्चित समुदायलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन, स्वास्थ्य सचेतना अभिवृद्धि र आपतकालीन उपचार सहयोगमार्फत उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँको कामले हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित भएको जनाइएको छ।

डा. घिमिरेको नेतृत्वमा लायन्स क्लब अफ काठमाण्डौ इन्द्र अन्नपूर्ण योगाले काठमाडौं उपत्यकासहित देशका विभिन्न दुर्गम जिल्लाहरूमा नियमित रूपमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर आयोजना गर्दै आएको छ। ती शिविरहरूमा सामान्य स्वास्थ्य परीक्षण, दन्त उपचार, औषधि वितरण, रक्तचाप तथा मधुमेह जाँच, परामर्श सेवा प्रदान गरिँदै आएको छ। आर्थिक अवस्था कमजोर, विपन्न तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका समुदाय यस्ता शिविरका प्रमुख लाभग्राही हुन्।

बिज्ञापन

स्वास्थ्य शिविरसँगै डा. घिमिरे रक्तदान कार्यक्रम, सरसफाइ तथा स्वच्छता अभियान, दन्त स्वास्थ्य शिक्षा, रोग रोकथामसम्बन्धी जनचेतना र आपतकालीन उपचार सहयोगमा पनि सक्रिय रहँदै आउनुभएको छ। “उपचारभन्दा रोकथाम उत्तम” भन्ने अवधारणालाई व्यवहारमा उतार्दै उहाँले रोग लाग्नुअघि नै सतर्कता अपनाउनुपर्ने सन्देशलाई प्राथमिकतामा राख्नुभएको छ।
लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट–३२५ एफका कोषाध्यक्षको जिम्मेवारीमा रहँदै डा. घिमिरेले संस्थाको आर्थिक पारदर्शिता, अनुशासन र प्रभावकारी स्रोत व्यवस्थापनमा भूमिका खेल्दै आएको लायन्स वृत्तले जनाएको छ। सीमित स्रोतसाधनलाई सेवामूलक कार्यक्रममै केन्द्रित गर्ने उहाँको प्रयास संस्थागत रूपमा प्रभावकारी देखिएको छ।

डा. घिमिरे स्वास्थ्यकर्मी मात्र नभई सक्रिय समाजसेवीका रूपमा चिनिनुहुन्छ। स्वास्थ्य शिविरमा स्वयं उपस्थित भई सेवा दिनु, बिरामीसँग प्रत्यक्ष संवाद गर्नु र चिकित्सक तथा स्वयंसेवक टोलीलाई परिचालन गर्नु उहाँको कार्यशैलीको विशेषता रहेको छ। यही कारण उहाँ समाजका विभिन्न वर्गबाट विश्वास र सम्मान प्राप्त व्यक्तित्वका रूपमा स्थापित हुनुभएको छ।

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा पुर्‍याएको निरन्तर योगदानको अन्तर्राष्ट्रिय स्तरमा भएको पहिचानका रूपमा प्राप्त यो सम्मानलाई लायन्स अभियानसँग जोडिएका व्यक्तिहरूले सामूहिक उपलब्धि भएको बताएका छन्। उनीहरूका अनुसार यसले नेपालमा भइरहेको सेवामूलक गतिविधिलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको छ।

डा. सुवास घिमिरेले आगामी दिनमा पनि स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ सामाजिक अभियानलाई थप विस्तार गर्ने बताउनुभएको छ। स्वास्थ्य सचेतना र निःशुल्क सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने आफ्नो प्रतिबद्धता यथावत् रहेको उहाँको भनाइ छ।