
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार दिएकी छन् ।

आज बिहान बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले प्रसाईँलाई सो उपहार दिएकी हुन् ।

साथै, प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । उनले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरिन् ।


मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् ।
यसअघि मंसिर २२ गते सिंहदरबारमा भएको भेटमा प्रसाईंले प्रधानमन्त्रीलाई उपहारस्वरूप भगवती दुर्गाको मूर्ति प्रदान गरेका थिए । सोही भेटको सन्दर्भ जोड्दै प्रधानमन्त्री कार्कीले प्रसाईंलाई बुद्धको चित्र उपहार दिएकी हुन् ।


