बनेपाको प्रभात बचतले गर्यो खेलाडीहरु लाई पोशाक वितरण

 

काभ्रेपलान्चोक  – आजको बचत भोलिको उज्वल भविष्य भन्ने मुल नाराको साथ प्रभात बचत तथा ऋण सहकारी संस्थाले बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउको श्री सरस्वती माध्यमिक विद्यालयको विद्यार्थीहरु लाई तेक्वान्दो पोशाक वितरण गरेको छ । आज संस्थाका अध्यक्ष सागर नाथ कपालिले विद्यार्थी लाई तेक्वान्दो पोशाक हस्तान्तरण गर्नु भएको थियो ।

बिज्ञापन

कार्यक्रममा बोल्दै प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर नाथ कपालिले सरस्वती माध्यमिक विद्यालयमा प्रभात बचत खेलको माध्यम बाट जोडिएको बताउदै राजधानीबाट नजिक भएर पनि बिकासमा पछाडि परेको भुग्देउ ६ मा रहेका खेलाडीहरु लाई प्रोत्साहन स्वरुप पोशाक वितरण गरेको बताउनु भयो । कोभिडको कारणले खेलाडीहरु लाई समयमा नै पोशाक वितरण गर्न नसकेको बताउदै अब स्थानीय चुनाव पछि फेरि प्रभात बचतले सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले काभ्रेको धेरै विद्यालयमा प्रभात बचतले पारिवारिक आय स्तर कम भएको बिद्यार्थीहरु लाई स्टेसनरी, स्कुल ड्रेस, खेलकुदको सामाग्री सहयोग गर्दै आएको जानकारी दिनु भयो । सहकारी संस्था कमाउने थलो मात्रै नभएको उल्लेख गर्दै समाज परिवर्तनको एक स्वरुप रहेको बताउनु भयो । 

उता कार्यक्रममा बोल्दै बेथानचोक गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णु तामाङले सहकारी नाफा कमाउनको लागि मात्रै संचालन नभएर गाउँ ठाउँ समाज परिवर्तनको आधार रहेको बताउनु भयो उहाँले प्रभात बचतले गरेको यो कार्यक्रमले धेरै खेलाडी र खेल प्रेमीहरु लाई उत्साहित बनाउन धेरै मद्दत पुग्ने जानकारी दिनु भयो । सम्पुर्ण खेलाडीहरु लाई एउटा उदेश्य लिएर राष्ट्रिय स्तरमा आफ्नो कला प्रस्तुत गर्ने सकोस् भन्ने शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन सिह लामाले खेलाडीहरु लाई सहकारीले जुन पोशाक वितरण गर्यो यसमा विद्यालय व्यवस्थापन परिवारको तर्फबाट धन्यवाद दिदै विधि र अनुशासनको पालन गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा भुग्देउ ६ का बिद्यार्थी खेलाडीले नाम राख्ने गरि खेल्न आग्रह गर्नु भएको थियो । जेहेन्दार र अनुशासित खेलाडी लाई विद्यालयले पनि सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले प्रभात बचत तथा ऋण सहकारी संस्थाले अझै समाज परिवर्तनमा उल्लेखनीय भुमिका खेल्दै ती जेहेन्दार र पछाडि परेको क्षेत्रका विद्यार्थी भाइ बहिनीहरु लाई सहयोग गर्दै समाजमा उदाहरणीय भुमिका खेलोस भन्ने शुभकामना समेत दिनु भएको थियो ।

कार्यक्रममा सरस्वती माध्यमिक विद्यालय प्रअ बिष्णु बहादुर थापा, राष्ट्रिय तेक्वान्दो संघका प्रशिक्षक फिरोज शाक्य, सुमन चौ प्रधान, बलराम मानन्धर, भरत दाहाल, प्रदिप प्रधान, राजु मानन्धर , गणेश भुजेल लगायत स्थानीयहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन प्रशिक्षक बाबुराम ढुङंगेलले गर्नु भएको थियो ।