
काभ्रे । पनौतीस्थित काभ्रे इङ्ग्लिश सेकेन्डरी स्कुलकी छात्रा कुसुम घिमिरेले राष्ट्रियस्तरको ‘खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता–२०८२’ मा प्रथम स्थान हासिल गर्दै उपाधि जितेकी छन्।
कक्षा १२ मा अध्ययनरत घिमिरेले ‘बाङ्गा अक्षर’द्वारा आयोजित प्रतियोगितामा देशभरका विद्यार्थीलाई पछि पार्दै उत्कृष्टता प्रमाणित गरेकी हुन्। प्रतियोगितामा साइमन घिमिरे द्वितीय तथा अनुश्री आचार्य र विनिता प्रधान संयुक्त रूपमा तृतीय भए।
मंसिर १, २०८२ सम्म विद्यालय तहका निबन्ध संकलन गरिएको प्रतियोगितामा हास्यव्यङ्ग्यको प्रभावकारिता, मौलिकता, विषयवस्तु, भाषाशैली र सिर्जनशीलताको आधारमा मूल्याङ्कन गरिएको थियो। मूल्याङ्कन समितिमा हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागे, साहित्यकार डा. ऋषि बस्ताकोटी र गायत्री लम्साल रहेका थिए।
विजेतालाई २०८२ पुस १२ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा प्रथमलाई नगद २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५–५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने आयोजक ‘बाङ्गा अक्षर’ले जनाएको छ।
उक्त पुरस्कार लोकप्रिय हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले नेपाली हास्यव्यङ्ग्य साहित्यको विकासका लागि स्थापना गर्नुभएको हो।






