
ढुंखर्क, महांकालस्थान । पौष २, मंगलबार
बेथानचोक–३ महांकालस्थानमा अवस्थित कृष्णगोपाल माध्यमिक विद्यालयले आफ्नो ५९औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतमा सम्पन्न स्थापना दिवसमा एसईई परीक्षामा उत्कृष्टता हासिल गर्ने विद्यिार्थीहरुलाई सम्मान, विद्यालयका विविध खेलकुद गतिविधिमा विजयी विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो । यस्तै, वर्ष भरीका विभिन्न प्रतियोगिता, प्रदर्शनी र वार्षिक परीक्षामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा विद्यालयको शैक्षिक उन्नयमा टेवा दिने उद्देश्यले अक्षयकोष स्थापना गर्ने व्यक्ति र संघ संस्थाहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले सामुदायिक विद्यालयले उत्कृष्ट नतिजा दिन थप मेहेनत गर्नु पर्ने बनाउँदै स्थानीय सरकार हातेमालो गर्न तयार रहेको बताउनु भयो । वडा नं. ३ का अध्यक्ष कुबेर ढकालल आफूहरु हमेशो वडामा अवस्थित विद्यालयसँगै रहेकोले विद्यालयका हर गतिविधिमा सहयोग गर्न र आवश्यक परे खबरदारी गर्न पनि तयार भएको बताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले गाउँपालिकाले जिल्ला मै पहिलो पटक निःशुल्क तथा अनिवार्य शिक्षा लागू गर्दै शिक्षा विकासका लागि निरन्तर कार्य गरिरहेको बताउनु भयो ।
कार्यक्रममा पार्वती बहुमुखी क्याम्पस प्रमुख राजेश तिमल्सिना, अक्षयकोष दाताहरुका तर्फबाट मिठाराम तिमल्सिना र रामहरि तिमल्सिना, वि.व्य.स. पूर्व अध्यक्षहरु बोधनाथ तिमल्सिना र गणेश तिमल्सिना, संघ संस्थाहरुका तर्फबाट श्रीकृष्ण थापाले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले विद्यालय प्रतिवेदन, आर्थिक प्रतिवेदन लेखापाल मोटप्रसाद सापकोटाले पेश गर्नु भएको थियो ।


शिक्षक रन्जन लामाले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सहायक प्र.अ. गोपालप्रसाद तिमल्सिनाले राख्नु भएको थियो । नेपाल साँस्कृतिक संघ काभ्रेका अध्यक्ष वाइपी घिमिरे, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको समूहले विविधि साँकृतिक प्रस्तुति दिएका थिए ।


